सात वर्षदेखि अलपत्र पक्की पुलको काम सुरु

दमौली । निर्माण सुरु भएर सात वर्षदेखि काम रोकिएको तनहुँको दुई पालिका जोड्ने पक्की पुलको काम अगाडि बढाइएको छ । शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्ने सेती नदीमाथिको पुलको निर्माण कार्य अगाडि बढाइएको हो ।
सङ्घीय सरकारको लगानीमा निर्माण सुरु भएको उक्त पुलको म्याद तीन पटक थपिएको छ । पछिल्लो पटक थपिएको म्याद गत वर्षको भदौ ९ गते सकिँदा हालसम्म तीन वटा पिल्लरको मात्रै काम सम्पन्न भएको छ ।
नदी किनारमा दुई र नदीको बीचमा एउटा पिल्लर ठडिएको छ । नदीको बीचमा अझै अर्को पिल्लर बनाउन बाँकी छ । गत वर्षको हिउँदमा चौथो पिल्लर उठाउन जग राख्ने काम भएको थियो । नदीको बहाव बढेपछि काम रोकिएको थियो ।
निर्माण व्यवसायी अहिले फिल्डमा आएर काम अगाडि बढेको छ । निर्माण व्यवसायी योगेन्द्र कँडेलले ढाँचा परिवर्तनका कारण काम ढिलाइ भएको बताए । “पहिला ओपन फाउण्डेशन थियो, डिजाइन परिवर्तनका लागि तीन वर्ष लाग्यो”, कँडेलले भने, “कोभिडका कारण पनि काम ढिलो भयो ।”
उनका अनुसार आगामी असार मसान्तसम्म म्याद थप भएकाले त्यो अवधिसम्म काम सम्पन्न हुनेछ । “वर्षाका बेला काम गर्न सकिँदैन, हिउँदमा मात्रै काम हुन्छ”, कँडेलले भने, “सडक विभागसँगको समन्वयमा काम गर्छौं ।”
स्थानीय शिवकुमार आलेले निर्माण व्यवसायीले असारभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकाले खुशी लागेको बताए ।
लामो समय पुल निर्माण अलपत्र हुँदा आवातजावतमा समस्या भएको स्थानीय प्रेमबहादुर थापा बताउँछन् । समयमै पुल निर्माण नहुँदा सेती पारीका भिमाद नगरपालिका, शुक्लागण्डकी र स्याङ्जाको हरिनास गाउँपालिकाका स्थानीय मर्कामा परेका छन् । थापाका अनुसार यहाँ पक्की पुल नहुँदा दुई पाङ्ग्रे सवारी झोलुङ्गे पुलबाट जोखिम मोलेर तारिन्छ । थापा भन्छन्, “सवारी चलाउने र पुल तर्ने पैदलयात्रुलाई पनि जोखिम छ । धेरै पटक दुर्घटना भइसक्यो ।”
झोलुङ्गे पुल नतर्ने हो भने भिमाद बजार घुमेर जानुपर्ने बाध्यता छ । पुल नबन्दा सेती पारीको समग्र विकास प्रभावित भएको स्थानीयवासीको गुनासो छ । मोटरसाइकल, स्कुटरबाहेकका ठूला सवारी साधन घुमाउरो बाटो हुँदै नजिकको पृथ्वीराजमार्ग र बजारमा पुग्नुपर्छ । क्याङ्दी खोला तरेर पुल्चोक हुँदै दुलेगौँडा बजार जाने एउटा विकल्प छ । वर्षायाममा क्याङ्दी खोलाबाट सवारी वारपार नहँुदा भिमाद बजार हुँदै राजमार्गमा पुग्ने गरेका छन् ।
हिउँदमा घुमाउरो बाटो प्रयोग गरेपनि वर्षाको बेला मोटरेवल पुलको अभाव खड्किन्छ । धेरै पटक सरोकारवालालाई खबरदारी गरिए पनि काम अगाडि बढ्न सकेको छैन । विसं २०७२ असार ३० गते सम्झौता भई २०७५ असार २९ मा निर्माण सम्पन्न गर्ने गरी एड्भेन्चर कन्स्ट्रक्सन चितवनले पुलको ठेक्का पाएको थियो ।
विसं २०७५ चैत १५ गते पहिलो पहिलो पटक म्याद थप गरिएको थियो । काम नसकिएपछि विसं २०७७ फागुन १४ गतेसम्म दोस्रो पटक म्याद थप भयो । विसं २०७८ भदौ ९ गतेसम्म तेस्रो पटक म्याद थप भएकामा उक्त अवधिमा पनि केही प्रगति हासिल नभएको बताइन्छ । रु आठ करोड ८० लाख ५० हजार आठ सय ८३ को लागतमा पुल निर्माण हुन लागेको हो ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया