‘महापुरुष’ले मनाउँदै एक्काउनौँ दिन

काठमाडौँ । प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले आज काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गरेको छ ।
कोरोना महामारीपश्चात् हलमा दर्शक घट्ने अनुमान गरिए पनि यही वर्ष ‘कबड्डी ४ः द फाइनल म्याच’ पश्चात् यसले ५१औँ दिन पूरा गर्दै घरेलु बक्स अफिसबाट नै रु १० करोड कमाउन सफल भएको छ । चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराई सफलताले दायित्व बोध बढेको बताउँछन् । “दर्शकको साथले थप ऊर्जा मिलेको छ”, उनले भने ।
नेपाल मात्र नभई अमेरिकामा समेत आठौँ हप्तामा चलचित्र प्रदर्शन भइरहेको छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियबजारमा विस्तार गर्न मद्दत पुगेको निर्देशक भट्टराईको भनाइ छ । उनले यसअगाडि निर्देशन गरेको जात्रा, शत्रु गते र जात्रै जात्रा चलचित्रले समेत ५१ औँ दिन पार गरेको थियो ।
‘मह सञ्चार’सँग डेढ दशकसम्म टेलीचलचित्रमा सहायक भएर सहकार्य गरेपछि निर्देशक बनेका भट्टराईले सफलताको श्रेय मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नै दिन्छन् । “उहाँहरूबाट नै सिकेर निर्देशन गर्न पाएको छु । स्कुल पढेर दिएको परीक्षामा पास भए झैँ महसुस भएको छ”, उनले भने ।
अमेरिका भ्रमण सकेर नेपाल फर्किएका अभिनेता आचार्यले निर्देशक भट्टराई सुरुआती दिनदेखि नै प्रतिभावान् रहेको बताए । “टेलीचलचित्र हामीले उहाँलाई जिम्मा लागाउँथ्यौँ । उहाँको कामले हाम्रो मन जितिसकेको थियो । आज चलचित्रमा समेत सफल हुँदा खुसी लाग्छ”, अभिनेता आचार्यले भने ।
चलचित्रमा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ ।










एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया