मंगलबार, चैत १०, २०८२

‘नेपालको पानी जनताको लगानी’ नारा व्यवहारिक गर्नु पर्ने चेम्बरको माग

मेरोन्यूज २०७९ माघ १० गते १६:०७

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङदेनसँग सिंहदरबारमा भेटवार्ता गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मन्त्री लिङदेनसँग चेम्बरले नेपालको पानी जनताको लगानी भन्ने सरकारी नारालाई व्यवहारिक कार्यन्व्यन गर्न आग्रह गरेको छ । मन्त्री लिङदेनसँगको भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत क्षेत्रमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत लगानी प्रर्वद्धन गरी स्वदेशमै ऊर्जाको खपत र निर्यातको वातावरण निर्माण गर्नु पर्ने जोड दिए ।

‘चरम व्यापार घाटा रोक्ने एक मात्रै विकल्प विद्युतको निर्यात हो, बर्खायाममा नेपालले साढे १० अर्ब रुपैयाँ हाराहारीमा विद्युत निर्यात गर्‍यो,’ अध्यक्ष मल्लले भने, ‘जलविद्युतमा स्वदेशी लगानी प्रर्वद्धन गरी खर्बको निर्यात गर्न ढिलाइ गर्नु हुँदैन ।’

उनले विद्युत आयोजना निर्माणमा हुने नीतिगत झण्झट अन्त्य एवं प्रसारण लाइन निर्माणलाई तीव्र बनाउनु पर्नेमा जोड दिए । रेमिट्यान्सको पैसालाई विद्युतमा लगानीका लागि प्रोत्साहन गर्ने गरी नीति बनाउनसमेत उनले मन्त्री लिङदेन समक्ष आग्रह गरे ।

यसअघी निर्माण सम्पन्न भइसकेका आयोजनाको पीपीए दर निकै न्यून दुई रुपैयाँ ९२ पैसा देखि ३ रुपैयाँ ९२ पैसा मात्रै कायम हुँदा लगानीकर्ता मारमा परेकाले पीपीएको नयाँ दर अनुसार समायोजन गर्न अध्यक्ष मल्लले आग्रह गरे । चेम्बरले विद्युत व्यापारमा नीजि क्षेत्रलाई अनुमति दिनसमेत माग गरेको छ ।

चेम्बर प्रतिनिधिसँगको भेटमा ऊर्जा मन्त्री लिङदेनले जलविद्युत विकासमा सर्वसाधरणको लगानी प्रवर्द्धन गर्न आफू प्रयासरत रहेको बताए । दूध कोशी, माथिल्लो अरुण, बुढी गण्डकी जस्ता आयोजना स्वदेशी लगानीबाटै बनाउनका लागि सरकारले योजना अघि बढाएको समेत मन्त्री लिङदेनको भनाइ थियो ।

नेपालको विद्युत निर्यातका लागि भारत, बंगलादेशसहित त्रिदेशीय सम्झौताको तयारी भइरहेको र छिट्टै परिणाम आउने मन्त्री लिङदेनको भनाइ छ । सरकारले विद्युत खपत बढाउने नीति समेत अख्तियार गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया