विदेशबाट फर्केर कृषिमा जुट्दै युवाहरू

भोजपुर । जिल्लामा विदेशबाट फर्केका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरु यही नै कृषिमा जुटेका हुन् ।
विदेशबाट फर्केर व्यावसायिक बाख्रापालनमा लागेका टेम्केमैयुङ गाउँपालिका १ तिम्माका गुणराज राउतले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । विदेशमा १५ वर्ष बिताएका उनी अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लागेका हुन् ।
उनले सञ्चालन गरेको हितेश बाख्रा फार्ममा १५० बाख्रा छन् । राउतले विदेशमा राम्रो आम्दानी नभए पनि १० वर्षअघिदेखि थालेको बाख्रापालनबाट वार्षिक तीनदेखि पाँच लाखसम्म आम्दानी गरिरहेको बताउँछन् ।
‘विभिन्न तीन देश गरेर १५ वर्ष पसिना बगाए,’ उनले भने, ‘धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिन, त्यहाँ पाएको दुःख सम्झेर अहिले आफ्नै ठाउँमा व्यावसायिकरुपमा बाख्रापालनमा लागेको छु, बाख्रापालनबाट यहीँ राम्रो आम्दानी गरिरहेको छु ।’
विदेशमा गर्ने मेहनत यहाँ गर्नसके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । मानिसले विदेशमा बगाउने पसिना यहीँ बगाए देशलाई पनि योगदान पुग्ने राउतको भनाइ छ ।
‘ठूलो सपना देखेर विदेश गएँ,’ उनले भने, ‘विदेश जानु पहिला यहीँ व्यावसायिक कृषिमा लागेको भए हुने रहेछ, अहिले पछुताएको छु, योजनाबद्ध रुपमा व्यवसाय गर्नसके यहाँ नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिन्छ ।’
बाख्रापालनसँगै आफूले जडीबुटीकोसमेत व्यावसायिक खेती गरिरहेको उनी बताउँछन् । बाख्रालाई विभिन्न समयमा लाग्ने रोगको भने समस्या रहेको राउतको भनाइ छ । कृषकलाई व्यावसायिकरुपमा बाख्रापालनका विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उनले बताए । ग्रामीण भेगमा पशु चिकित्सकको उपस्थिति कम हुने भएकाले किसानलाई समस्या हुने उनी बताउँछन् ।
‘बाख्रा बिरामी हुँदा उपचार गराउन समस्या छ,’ राउतले भने, ‘राज्यले उपचारका लागि सहज वातावरण बनाइदिए राम्रो हुन्थ्यो, मैले त लामो समय भएकाले अनुभवका आधारमा पनि उपचार गराइरहेको छु, तर भर्खर व्यवसाय थाल्नेलाई समस्या छ ।’
विदेशबाट फर्केर अर्का युवा प्रेम बस्नेतले पनि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । व्यावसायिक भएर काम गर्दा आनन्द हुने बस्नेतको भनाइ छ ।
‘विदेशमा धेरै नै दुःख छ,’ बस्नेतले भने, ‘यहाँ दुःख गरेको सबैले देख्छन्, तर विदेशमा गरेको दुःख अरुले नदेख्ने मात्र हो, त्यहाँ गर्ने दुःख यहाँ गर्ने हो भने पैसा कमाउन कुनै समस्या छैन ।’
विदेशमा यहाँबाट सोचेर गएजस्तो सहज नहुने बस्नेतको भनाइ छ । व्यावसायिक भएर आफ्नै ठाउँमा काम गर्ने हो भने त्यहाँको भन्दा दोब्बर आम्दानी गर्न सकिने उनीले बताउँछन् ।
विदेशबाट फर्केर अर्का स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिक रुपमा सतुवा तथा चिराइतो खेती गरिरहेको बताउँछन् । उनले व्यवसायबाट वर्षमा तीनदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएको बताउँछन् ।
‘विदेशमा लामो समय बिताए, सोचे जस्तो आम्दानी गर्न सकिँन’, उनले भने, ‘अहिले व्यावसायिकरुपमा जडीबुटी खेती गरिरहेको छु, परिवारको दैनिक घर खर्च धानेर राम्रै आम्दानी गर्दै आएको छु ।’
टेम्केमैयुङ ५ मझौलेका कुमार विष्टले पनि विदेशबाट फर्केर व्यावसायिक किबी तथा एभोकाडोको खेती गरिरहेको बताउँछन् । गत वर्षबाट खेती सुरु गरेकाले अबका केही वर्षमा वार्षिक छदेखि आठ लाखसम्म आम्दानी लिने लक्ष्य रहेको कृषक विष्टको भनाइ छ ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया