लोप हुँदै महाकालीको ‘महाशेर माछा’

दोधारा चाँदनी । एक दशक अघिसम्म महाकाली नदीमा सजिलै पाइने यहाँको प्रख्यात ‘महाशेर माछा’ लोप हुन थालेको छ । माछाका विभिन्न प्रजातिमध्येको एक प्रजाति ‘महाशेर माछा’ आजभोलि महाकाली नदीमा मुस्किलले पाइन्छ । देख्नमा आकर्षक, तौल धेरै हुने र खानमा पनि स्वादिष्ट हुने भएकाले माछाको राजाका रुपमा समेत महाशेरलाई चिन्ने गरिन्छ । पछिल्लो समय महाकाली नदीमा उक्त माछा मात्रै नभई अन्य माछासमेत पाउन छाडेको बताइन्छ ।
आठ वर्षदेखि माछा मार्ने ठेक्का लिँदै आएका यहाँका माछा व्यवसायी जगत सिंहले पछिल्लो समय महाकाली नदीमा फाट्टफुट रुपमा मात्रै महाशेर माछा पाउने गरेको बताए । “अहिले महाशेर मात्रै होइन अन्य माछा पनि धेरै कम पाइन थालेका छन्”, उनले भने, “नदीमा ताल नहुनु र अनियन्त्रित रुपमा नदी उत्खननले पनि माछा लोप हुन थालेका छन् ।”
महाकाली किनारका अधिकांश मानिसले माछा मारेर जीवकोपार्जन गर्ने गरेका छन् । नदीमा माछा न्यून पाउन थालेपछि व्यवसायीसमेत चिन्तित बनेका छन् । एक दशकअघिसम्म महाकालीमा एउटै एक÷डेढ क्विन्टलभन्दा ठूलो तौल भएको महाशेर भेट्न सकिन्थ्यो । अहिले १०÷१५ किलोग्रामका महाशेर पनि भेटिन गाह्रो हुने गरेको माछा व्यवसायी बताउँछन् ।
“पहिला महाकाली नदीमा एउटै महाशेर क्विन्टलसम्मको भेटिन्थ्यो”, स्थानीय कालु सुनाहाले भने , “केही वर्षयता थोरै मात्रामा महाशेर माछा पाइन्छ, त्यो पनि १०÷१५ किलोको मात्रै ।” महाकाली नदीमा अनियन्त्रित ढङ्गले माछा मार्ने क्रम पनि बढ्दै गएकाले महाशेर लोप हुन थालेको बताइन्छ ।
तत्कालीन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले महाकालीमा महाशेर लोपोन्मुख अवस्थामा रहेको बताए । “महाशेर माछा विश्वमै दुर्लभ प्रजातिको माछा हो, यो लोप हुने अवस्थामा छ”, उनले भने, “पछिल्लो समय अनियन्त्रित रुपमा माछा मार्ने गतिविधिका कारण यो प्रजाति लोप हुने अवस्थामा पुगेको हो ।”
उनका अनुसार २०२० मा गरिएको अध्ययनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै लोपोन्मुख प्रजातिसहितका माछा रहेको पाइएको हो । त्यसमा महाकालीको महाशेर माछा पनि छ । महाकालीको आकर्षणका रुपमा रहेको महाशेर माछा संरक्षण गरेर जलीय जैविक विविधता कायम राख्नाका साथै जल पर्यटनलाई समेत टेवा पुग्ने उनले बताए । रासस
















पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ : गगन थापा
भारतमा सर्वाधिक बिक्री हुने सुजुकी एक्सेस १२५ सीसी स्कुटर अब नेपालमा
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
प्रतिक्रिया