सोमबार, चैत ३०, २०८२

चलचित्र जारीको व्यापार राम्रो भएपछि निर्देशक सुब्बा भन्छन्- बनाउँदा बनाउँदै के-के बनाएँ नै थाहा छैन

मेरोन्यूज २०८० वैशाख ६ गते १९:५५

काठमाडौं । नेपाली चलचित्र जारी प्रदर्शनमा आएको हप्ता दिन बित्नै लाग्दा चलचित्र निर्माण टिमले पत्रकार सम्मेलन गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जारीका निर्देशक, कलाकारहरुले जारी प्रर्दशनमा आएपछिका दर्शकसँगका प्रतिक्रियाहरु सुनाएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence


कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले चलचित्र प्रदर्शनपछि दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए । उनले लिम्बू संस्कृतिसँग सम्बन्धित चलचित्र भएकाले काम गर्न केही कठिनाइ भएपनि आफू लिम्बू संस्कृतिसँग धेरै नजिक हुँदा सहज लागेको बताए । उनले सांस्कृतिक हिसावले पनि आफूलाई अभिनय गर्न सहज भएको बताए ।


‘धेरैले राम्रो प्रतिक्रिया दिनुभएको छ । मलाई काम गर्न केही कल्चरको हिसावले उस्तैउस्तै भएर धेरै नै सहज भयो, अभिनय निभाउनलाई । कल्चर मिल्दोजुल्दो थियो, हृदम पनि मिल्दोजुल्दो थियो । स्क्रिप्ट छर्लङ्ग थियो, त्यो मेरो लागि चुनौति थियो । रिस, प्रेम, इगो सबै थियो । सांस्कृतिक हिसावले पनि मलाई अभिनय गर्न धेरै सहज भयो,’ उनले भने ।


अभिनेत्री मिरुना मगरले अन्य चलचित्रमा अभिनय मात्रै हुने भएपनि जारीमा भने पात्रअनुसार भिजेर अभिनय गर्न पाएको बताइन् । उनले आफूले चलचित्रमा अभिनय गर्दा पात्रको विषयवस्तुलाई महशुस गरेर काम गरेकाले राम्रो प्रतिक्रिया पाइरहेको बताइन् ।

उनले भनिन्, ‘मैले काम गरेका चरित्रहरुमा जारी भन्दा भिन्न थियो । जारीको स्क्रिप्ट पढ्दा नै मैले धेरै नै भिन्न पाएको थिएँ । मलाई स्क्रिप्ट पढ्ने बित्तिकै काम गरेको जस्तो फिल हुन्छ होला भन्ने लागेको थियो । मैले यो चरित्रमा वास्तविक अभिनय गर्ने प्रयास गरेको छु । चलचित्रमा मैले पात्रको अभिनयलाई महशुस गरेर काम गरेँ र धेरैकुरा सिक्न पाएँ ।’


त्यस्तै, अभिनेता विजय बरालले लिम्बू समुदायको कथावस्तुलाई चलचित्रमा उतारिएको त्यही अनुसारको पात्र बन्दा केही कठिनाइ भएको बताए । उनले लिम्बू भाषा बोल्नै नजान्नेलाई सबैभन्दा बढी लिम्बू भाषा प्रयोग गर्नुपर्ने पात्र बनाउँदा केही कठिनाइ भएको तर सिक्दै जाँदा सहजै अभिनय गर्न सकेको बताए ।


उनले भने, ‘लिम्बू कल्चरको थियो, त्यसलाई चरित्रमा उतार्न गाह्रो थियो, आवाजमा गाह्रो थियो, मेरो चरित्रमा फेरि सबै लिम्बू भाषाको प्रयोग गर्नुपर्ने धेरै थियो ।’


निर्देशक उपेन्द्र सुब्बाले नेपाली समाजमा सबैभन्दा स्वतन्त्र रुपमा जीवन जिउने महिलाहरु लिम्बू समुदायमै रहेपनि उनीहरुको स्वतन्त्रता घरका मान्छेले कहाँ गइस् भनेर नसोध्नु मात्रै होइन भन्ने कथावस्तु देखाउन खोजेको बताए । उनले महिलाहरुले पैतृक सम्पतीको उपभोग गर्न नपाउन्जेलसमम अन्य स्वतन्त्रताको अर्थ रहँदैन भन्ने यथार्थलाई चलचित्रमा देखाउन खोजेको बताए ।

उनले भने, ‘नेपाली समाजमा खुला समाज भनेको लिम्बूहरुको हो । बढी स्वतन्त्रता लिम्बूहरुले नै उपभोग गरिरहेका छन् भन्ने गरिन्छ । यहाँभित्र महिलाहरुको हक बढी हुन्छ भन्ने कथन छ । यो एक किसिमले स्वीकार्य हो, मलाई यत्तिले मात्रै पुग्दैन भनेर लागेको हो । कहाँ हो छारी कहाँ गइस् भनेर मात्रै स्वतन्त्रता होइन, अरु पनि धेरै कुरा छन् भन्ने लाग्यो । जबसम्म छोरीमा पैतृक सम्पतीको हक लाग्दैन तबसम्म अरु स्वतन्त्रता फिक्का रहन्छन् भन्ने सोचेर नै जारी बनाउने सोच निकालेँ । बनाउँदा बनाउँदै के के बनाएँ नै थाहा छैन । हरेक समाजका महिला सबल र सक्षम रहुन् भन्ने चाहन्छु ।’


लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमानको कथा समेटिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बू लगायतले अभिनय गरेका छन् । जारी नयाँ वर्षको दिन देशभर प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया