आइतबार, चैत १५, २०८२

ई–सेवा ग्राहक पहिचान प्रमाणीकरण र सुरक्षित कारोबार

मेरोन्यूज २०८० वैशाख २८ गते १९:४८

काठमाडौँ । प्रविधिको विकास र प्रयोगले मानव जीवन सहज बन्दै गएको छ । बैंक पुग्न टाढासम्म धाउनु पर्ने र सानोतिनो कारोबारका लागि बैंक कार्यालय पुग्नु पर्ने अवस्थाको अन्त्य हुँदै गएको छ । यसले वित्तीय कारोबार सहज र झन्झटरहित बनेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यतिबेला प्रविधिको समुचित प्रयोग सबैका लागि अनिवार्य छ । मुख्यतया बैंकिङ कारोबारको डिजिटल प्रयोगमा सामान्य ध्यान दिए पनि सम्भावित समस्याहरूबाट बच्न सकिन्छ । अनेकन् झन्झट र लामो समय जोगाउन केहीबेर र छोटो प्रक्रियाहरू अवलम्बन गरेमा वित्तीय कारोबार सुरक्षित राख्ने सकिन्छ ।

तिनै सामान्य प्रक्रियाहरूमध्येको एक हो केवाईसी अपडेट हरेक बैंकमा खाता खोल्दा केवाईसी विवरण भर्न लगाइन्छ । केवाईसी ग्राहक पहिचान गर्ने प्रणाली हो जसले वित्तीय ठगी नियन्त्रण गर्न, मनी लान्ड्रिङ रोक्न र शंकास्पद गतिविधिहरू पहिचान गर्न, ठूला कारोबारहरूको छानबिन र अनुगमन गर्न मद्दत गर्दछ । झट्ट हेर्दा ग्राहकका लागि झन्झट जस्तो देखिए पनि यो ग्राहकै सुरक्षाका लागि हो ।

कसैले अवैध तरिकाबाट आर्जन गरेको पैसा बैंक वा वित्तीय कारोबार गर्ने संस्थाहरूमा नलुकाउन भनेर पनि केवाईसी फर्म भर्न लगाइन्छ । यसबाट कुनै व्यक्तिको सम्पत्तिको सही स्रोतबाट आएको हो कि होइन भनेर बुझ्नका लागि सहयोग पुग्दछ ।

कुनै वित्तीय संस्थामा समस्या आउँदा त्यसका सञ्चालकलाई मात्र होइन, त्यसका सदस्यहरूलाई कुनै नै कुनै समस्या पर्छ नै साथसाथै वित्तीय संस्थाको संकटले देशलाई पनि धेरथोर प्रभावित बनाउने गर्दछ । त्यसैले वित्तीय संस्थाहरू व्यवस्थित र सुदृढ बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट अनेकन् नियमन र सूत्रहरू तय गरिएको हुन्छ ।

ग्राहक पहिचान विवरण भर्नुको मुख्य उद्देश्य भनेकै ग्राहक पहिचान गर्न सहज होस् भन्ने हो । वित्तीय संस्थाबाट कुनै गलत व्यक्तिले अनधिकृत काम वा सेवा लिन नपाओस् भन्नु नै केवाइसी अपडेट अनिवार्य गरिएको हो ।

केवाइसीमा खाता नम्बर, नाम (आफ्नो¸ बुवारआमा र हजुरबुवाको नाम), पेसा, नागरिकता वा पासपोर्ट वा सवारी लाइसेन्स नम्बर, डेभिड वा क्रेडिट कार्ड लिएको भए त्यसको नम्बर, ठेगाना जस्ता विवरण उल्लेख गरिएको हुन्छ । दुई हजार पाच सय भन्दा बढीको कारोबार गर्न तथा ई–सेवामा उपलब्ध सबै सुविधा लिन अनिवार्य रूपमा केवाईसी विवरण भर्नु पर्छ ।

आम ग्राहकको कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन ई–सेवाले पछिल्लो समय नयाँ तरिकाले केवाइसी भर्ने तथा ग्राहक प्रमाणीकरण गर्न सकिने सेवाको सुरुवात गरेको छ । यसअघि ई–सेवामा ई–सेवाको मोबाइल एपबाटै नागरिकता तथा पासपोर्ट फोटो अपलोड गरेर केवाइसी भर्न तथा अपडेट गर्न सकिन्थ्यो । ई–सेवा खाता खोलिसकेपछि नागरिकता तथा पासपोर्टको अगाडि र पछाडिको तस्बिर खिची पासपोर्ट साइजको फोटो एपबाटै अपलोड गरी केवाईसी भर्न तथा अपडेट गर्न सकिन्थ्यो ।

तर अहिले केही व्यक्तिले अर्काको नाममा रहेको सिम, नागरिकता, पासपोर्ट जस्ता महत्त्वपूर्ण कागजातको दुरुपयोग गरी सामाजिक सञ्जालको दुरुपयोग गर्दै ई–सेवा आइडी सञ्चालन गर्ने गरेका गुनासा रोक्न ई–सेवाले केवाईसी भेरिफिकेशनको नयाँ प्रक्रिया अपनाएको हो ।

नयाँ तरिकामा ग्राहकले पहिलो चरणमा व्यक्तिको सम्पूर्ण विवरण राख्नु पर्नेछ । यस्तै दोस्रो चरणमा लोकेसन उल्लेख गर्नुपर्नेछ । अनि तेस्रो चरणमा आफूले लाइभ फोटो खिचेर मात्र अपलोड गर्नु पर्नेछ । अनि मात्र ई–सेवामा केवाइसी पूर्ण रूपमा अपडेट भएको मान्यता पाइनेछ । अबदेखि मोबाइल वा ल्यापटपमा सेभ गरेका तस्बिर ई–सेवाले स्वीकार गर्दैन । लाइभ तस्बिर दुवै कान देखिने गरी खिच्नुपर्ने हुन्छ ।

अन्य व्यक्तिले नागरिकता, पासपोर्ट र भोटर आइडी जस्ता कागजातको दुरुपयोग गरी ई–सेवा एकाउन्ट खोल्न नसकुन् भन्ने उद्देश्य राखेर ई–सेवाले यस किसिमको प्रक्रिया अपनाएको हो । अब प्रयोगकर्ताले पासपोर्ट साइजको फोटोका साथै आफूले लाइभ तस्बिर खिचेर मात्र इ–सेवामा भेरिफाइ हुन पाइनेछन् ।

आफ्नो कारोबार र सेवालाई थप सहज र सरल मात्र होइन, सुरक्षित, व्यवस्थित र प्रभावकारी पनि बनाउँदै लगेको छ । आफ्नो सेवालाई समयानुकूल परिष्कृत गर्दै लगेको छ । ग्राहकको सेवा र सन्तुष्टि साथै वित्तीय सुरक्षा र जोखिम न्यूनीकरणमा ई-सेवा प्रतिबद्ध छ ।

प्रतिक्रिया