शनिबार, वैशाख ५, २०८३

युवतीलाई झुक्याएर लैजाँदै भारतमा यौन धन्धा सञ्चालन

मेरोन्यूज २०८० जेठ १ गते २०:३५

काठमाडौँ । नेपाल र भारतका गिरोहको मिलेमतोमा नेपाली युवतीहरूलाई झुक्यानमा पारी भारत पुर्याएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको फेला परेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रहरीले हालै झापामा पक्राउ परेकी म्याग्दीकी अप्सरा भन्ने एलिना खत्रीमाथि गरिएको अनुसन्धानमा यस्तो तथ्य फेला परेको मानव बेचखिबन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए ।

खत्रीका एक सहयोगीले विसं २०७९ कात्तिक २४ गते एक युवतीलाई नुवाकोटबाट बस चढेर काठमाडौँमा आफन्त भेट्न आउने क्रममा खानेकुरा तथा पानीमा बेहोस पार्ने औषधि मिसावट गरेर खुवाएका थिए ।

पीडित युवती बेहोस् भएपछि उनले गिरोहसँगको मिलेमतोमा भारतको आसाम राज्यको सिल्चरको कोठीमा बेचेका थिए । त्यसपछि खत्रीलगायतले पीडितलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएर राखेको प्रहरीले जनाएको छ ।

त्यसपछि नेपाल प्रहरीले भारतीय प्रहरी र माइती नेपालको सहयोगमा पीडितको उद्धार गरेको थियो । पीडितले दिएको जाहेरीका आधारमा खत्रीलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा वैशाख ३१ गते पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा आजै अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार पीडित युवतीलाई बेचबिखनमा लगाउनेमा उनीसहित नेपाल र भारतका छ जनाको संलग्नता रहेको खुलेको छ । खत्री यसअघि पनि मानव बेचबिखन अपराधमा संलग्न रहेको पाइएको छ । गत मङ्सिरमा उनी अदालतको आदेशले एक लाख ५० हजार धरौटी तिरेर तारिखमा छुटेको पाइएको छ ।

मानव बेचबिखन मुद्दामा खत्रीका श्रीमान् भारतीय नागरिक अजित शाह पुर्पक्षका लागि कारागार कार्यालय भद्रपुरमा रहेका छन् । प्रहरीले उनीहरूले यसरी नेपाली महिलाहरूलाई लगेर भारतमा कोठी सञ्चालन गरेको जनाएको छ ।

प्रतिक्रिया