मंगलबार, वैशाख ८, २०८३

लोकगीतमा डुबेकी अमृता श्रीपालको सांगितिक जीवन

नरेन्द्र रौले २०८० जेठ ३१ गते १९:४०

चलचित्रकी नायिका भन्दा कम छैनन् गायिका अमृता श्रीपाल । सुरिलो आवाजले लठठ् बनाउने कला छ, उनको स्वरमा । तर, उनी चर्चामा आउन त्यति खोज्दिनन् । कुनै चलचित्रमा अभिनय गर्ने मौका पाएको भए सायद उनी नायिकाका रुपमा लोकप्रियता कमाईसकेकी हुन्थिन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

म्याग्दी बेनी नगरपालिका ३ भकिम्लीकि अमृता श्रीपाललाई स्कुल पढ्ने बेला देखी नै गायिका बन्ने रहर थियो । उनी स्कुल, कलेज स्तरीय कार्यक्रममा नछुटाई भाग लिन्थिन् । बेनीबजारमा महिला समूहले आयोजना गरेका कार्यक्रममा त सबैलाई उछिनेर पहिलो नै बन्थिन् । राम्रो गाउँने उनी सांगितिक दुनियाँमा भिज्न चाहन्थिन् । अमृताका दाई बिनोद मीठो गीत गाउथे । यसले गर्दा उनलाई झनै सजिलो भईदियो ।

अमृता बिगत ७ वर्ष अगाडी राजधानी काठमाडौँ प्रवेश गरिन् । म्याग्दीको जयन्ती माविबाट ०६९ मा एसएलसी दिएकी उनले प्लस टु म्याग्दी क्याम्पस, बेनीबाट पूरा गरिन् । ०७३ मा संगीत पढ्ने रहरले उनलाई काठमाडौँ डोर्‍यायो । त्यो बेला उनी साथीसँग डेरा लिएर बस्थिन् । यो शहरका लागि उनी आफू पनि नयाँ थिईन् । कसैले उनलाई भन्यो, ‘लोक दोहोरी गाउनेले संगीत सिकिरहनु पर्दैन । आधुनिक गायनमा लाग्नेले मात्र हो संगीत सिक्ने ।’ उनले त्यसैलाई पत्याईन् ।


ठमेलको लेखनाथमार्गस्थित सरस्वती क्याम्पसमा अर्थशास्त्र विषय लिएर स्नातकमा भर्ना भएकी अमृतालाई कतै जागिर गर्नु पर्ने बाध्यता थियो । नयाँ बसपार्कको दोहोरीमा काम गर्दै यता अध्ययनलाई निरन्तरता दिईन् । साँझ ६ देखी राती १२ बजेसम्म दोहोरीमा उनको ड्युटी हुन्थ्यो । रातभर दोहोरीमा काम, दिउसो कलेज जानु पर्ने । उनलाई पढ्न गार्‍हो भयो । नचाहँदा नचाहँदै उनले दोस्रो वर्षमै पढाईमा पूर्णविराम लगाउनु पर्‍यो । उनको पढाई एकातिर, रहर अर्कैतिर भईदियो । तालमेल नै मिलेन ।

अमृता गीत संगीतको नशामा चुर्लुम्म डुबिसकेकी थिईन् । संगीत भनेपछि बेग्लै उर्जा मिल्थ्यो । उनलाई हार्मोनियम बजाईराख्न मन लाग्थ्यो, गीत गुन्गुनाईरहन मन लाग्थ्यो । खाना बनाउँदा होस् कि लुगा धुँदा, कोठामा बस्दा पनि उनलाई हरबखत गीत गुन्गुनाईरहन मन लाग्थ्यो । ‘घर जाँदा बाले गाली गर्नुहुन्थ्यो । म जतिबेलै पनि गीत गुन्गुनाईरहन्थें ।’ उनले भनिन्, ‘कति गीत गाएको भनेर कराउनु हुन्थ्यो ।’ खासमा उनका बुबा अमृतालाई ‘लाहुरे बन’ भन्नु हुन्थ्यो । आफू पनि इन्डियन आर्मी भएर होला छोरीलाई पनि त्यतै भविष्य देख्नु हुन्थ्यो । उनकी दिदी भने ‘स्टाफ नर्स पढ’ भन्नु हुन्थ्यो । कलेज पढ्दा बिभा ढुंगाना भन्ने साथी गीत, संगीतमै लाग्नुपर्छ भन्थिन् ।

अमृतालाई गायिका बनेकोमा पछुतो छैन । उनले आफै कमाएर जीवन चलाईन् । गीत संगीतमा लागेर कसैलाई पैसा माग्नु परेन ।

अमृताको पहिलो कमाई

नयाँ बसपार्कको नेपाली दोहोरी साँझमा काम गर्दा उनको तलब साढे ६ हजार रूपैँया थियो । यो नै उनको जीवनको पहिलो कमाई थियो । त्यो दोहोरीमा एक महिना मात्र गरेकी अमृतालाई गोंगबुको म्याग्दी दोहोरीले एकै पटक १० हजार रूपैँया दिएर बोलायो । त्यसमा भने उनले ७ महिना दोहोरी घन्काईन् । त्यसपछि बसपार्ककै चाँदनी दोहोरीमा एक वर्ष काम गरिन । त्यहि दोहोरीमा काम गर्दागर्दै उनले कतार जाने अवसर पाइन् । म्याग्दी समाज कतारको निमन्त्रणामा दोस्रो चोटी कतार पुगिन् ।


अमृता पहिलो चोटी हिमालयन इन्टरनेश्नल अवार्ड थाप्न कतार पुगिन् । म्याग्दी प्रवासी समाज, कतारको निम्तोमा उनी पहिलो पटक कतार पुगिन् । अहिलेसम्म दुई पटक उनले कतार जाने मौका पाईन् । त्यही दोहोरीमा काम गर्दा उनले छाया छवी तीज अवार्ड र म्युजिक खबर म्युजिक अवार्ड पनि पाईन् । विदेशमा जता पनि नेपालीहरु भेटिएर उनलाई कुनै नौलो भने लागेन ।

सन् २०१९ मा गैरे समाज, जापानको आयोजनामा अमृता जापानमा उडिन् । तीज कार्यक्रममा गएकी उनी १५ दिन जापान बसिन् । सन् २०२२ को तीजमा पनि जापान पुग्दा बिभिन्न सांगितिक कार्यक्रमहरूमा भाग लिईन् । धेरै देश घुम्न पायो भने त्यहाँ नेपाली गीत संगीत प्रस्तुत गर्थें भन्ने उनलाई लाग्छ । विदेशमा धेरै दुःख छ । संघर्ष छ । गर्न सके नेपालमै राम्रो सम्भाबना छ भन्ने लाग्छ । नेपालमा झापादेखी पश्चिम प्युठानसम्म सांगितिक कार्यक्रमका सिलसिलामा पुगिन् ।

लोकगीतमा मन बसेकी अमृता

अमृतालाई लोकगीत एकदमै मन पर्छ । उनले गाउने पनि, सुन्ने पनि लोकगीत नै हो । लोकगीत, सालैजो, यानीमाया, सोरठी, पञ्चैबाजाका लागि म्याग्दी प्रख्यात छ । तर, पहिला जस्तो भने छैन । उनलाई सालैजो गाउन, शीरफूल पनि खुबै मन पर्छ ।
अमृताले पहिलो गीत आफ्नै दाईसँग रेकर्ड गराईन् ।

उनले गाएको ‘दसैं, तिहार मनाउन’ बोलेको गीत पहिलो रेकर्डेड गीत हो । यो २०७३ मा रेकर्ड भयो । त्यसबाट राम्रो प्रतिक्रिया पाएपछि अरु गीत पनि रेकर्ड गरिन् । हालसम्म आफ्नो अरुमा गरेर दुई दर्जन गीतहरु रेकर्ड भईसकेका छन् । सबैभन्दा चलेको ‘खैनीले’ भन्ने गीत हो । त्यस पछाडी चिलगाडी, मदानी भन्ने गीत बढी लोकप्रिय बने । सुरुसुरुमा नयाँ कलाकार भनेर कमै पारिश्रमिक दिन्थे । आउने जाने भाडा पुग्दैनथ्यो । पछि बुझेर जान थालें । अहिले पारिश्रमिक चित्त बुझ्दो नै छ ।

अमृताका रहरहरू

अमृता शान्त, एकान्तमा बस्न मन पराउँछिन् । सुनसान वातावरणमा एक्लै बस्न रुचाउछिन् । उनलाई ग्रामिण परिवेश, डाँडापाखा, हिमाली क्षेत्र घुम्न विशेष मन पर्छ । जापान गएर माउन्ट फुजी घुमिन् । त्यो यात्रा उनका लागि अविस्मरणिय छ । कतारमा समुन्द्री किनार र डेजर्ट सफारी गरेको भुल्न सक्दिनन् । नेपालमा मुस्ताङ, मनाङ पुग्न मन छ । दार्जिलिङ, सिक्कीम पनि घुम्न एकदमै रहर छ ।

फुर्सदको समयमा

अमृता फुर्सद मिल्दा रेस्टुराँ जान रुचाउँछिन् । कोरियन फुड्को स्वाद उनको जिब्रोमा झुन्डिएको छ । आफू भने नेपाली परिकारहरु मीठो बनाउँछिन् । घरको काम गर्न उनको सोख छ । साउथ इन्डियन मुभी हेर्न र गीतहरु सुन्न हुरुक्कै हुन्छिन् ।

‘अनि विहेको सोच छैन ?’

अहिलेसम्म सिंगल रहेकी अमृतालाई सोधियो । ‘अहिले नै त छैन । म आफ्नो करिअरमा फोकस छु ।’ उनले भनिन्, ‘विहे भन्ने कुरा माथिबाटै लेखेर आएको हुन्छ भन्छन् । लगन जुरेपछि हुन्छ होला नि ।’


उनलाई लभ लेटर स्कुल पढ्ने बेला नै आएछ । कक्षा ७ पढ्ने बेला एक जना केटाले हात काटेर रगतले पानको पात बनाएर ‘आइ लभ यु अमृता’ भनेर आएको उनले भुलेकी छैनन् । आफू भन्दा एक कक्षा तलको क्लासको केटाले लेखेको थियो । ‘भाइ नै भनौं न ।’ त्यो पल सम्झिइन्, ‘त्यो चिठी च्यातेर उसकै अगाडी फालिदिएँ । गजल, कविता पनि लेखेको थियो । बिचरा रोयो ।’ यो सुनाईरहँदा उनी हाँसिरहेकी थिईन् ।

‘भविष्यको योजना के छ ?’

गीत संगीतमा लाग्ने, राम्रा गीतहरु ल्याउने उनको सोच छ । जीन्दगी यसैमा समर्पित गर्ने उनको विचार छ । दोस्रो कुनै पेशाबारे उनले सोचेको छैन । हाल राजधानीको एक दोहोरीमा बिगत ७ वर्षदेखी निरन्तर दोहोरी घन्काईरहेकी उनी संघर्षरत छिन् । आफूलाई राजधानी बस्न पुग्ने कमाई भईरहेको उनले सुनाईन् ।

प्रतिक्रिया