बुधबार, फागुन २०, २०८२

नृत्य र समाजसेवामा हुरुक्कै हुने सोनियाको भित्री कथा !

नरेन्द्र रौले २०८० असार १ गते १५:०२

नृत्यसँग सोनिया अछामीको प्रेम बसेको धेरै भइसक्यो । अब त उनी नृत्यबाट अलग हुनै सक्दिनन् । गोरखाको भीमसेन थापा गाउँपालिका ७ धावामा जन्मिएकी सोनिया स्कुल पढ्दा संगीतमा यसरी डुब्ने गर्थिन् कि रेडियो नेपालबाट कुनै गीत बज्दा कम्मर मर्काई हाल्थिन् ।

Advertisement
nepal life insurencenepal life insurence

रेडियोमा बज्ने गीतहरू सुन्दा सोनियालाई नाचौंनाचौं लागिहाल्थ्यो । नेपाल टेलिभिजनमा बज्ने नाच देखेपछि त त्यही हेरेर नाच्ने कस्सिहाल्थिन् । मध्यरात कुनै गीत बज्दा पनि त्यसैको तालमा नाच्ने गर्थिन् ।

सोनियाले जीवनमा कलाकार बन्ने एउटै सपना पालेकी थिइन् । नाच्न भनेपछि हुरुक्कै हुन्थिन् । बुबा, आमा र चार दाजुभाइपछि उनी एक्ली छोरी थिइन् । गाउनमा पनि उनको विशेष रुची थियो । कतै नाचगानका कार्यक्रम आयोजना हुँदा प्रतिस्पर्धामा भाग लिन पछि पर्दैनथिन् । तर, उनले सुरुमा खासै घर परिवार र कतैबाट सहयोग भने पाइनन् ।

सोनिया स्कुल पढ्दा गोरखाको आरुघाटमा डान्स क्लास खुल्यो । त्योबेला उनी प्रभात उच्च मा.वि.मा कक्षा ८ मा पढ्थिन् । त्यो क्लासमा उनी भर्ना भइन् । घरबाट आरुघाट पुग्न एक घण्टा जंगलको बाटो हिँड्नु पथ्र्यो । बिहान ५ बजे घरबाट हिँड्ने उनको दैनिकी बनिसकेको थियो ।

त्यत्रो बाटोभरि उनी एक्लै हुन्थिन् । डान्स क्लासमा भर्ना भएको मासिक पाँच सय रुपैयाँ तिर्नु पथ्र्यो । त्यहाँ उनले तीन महिना डान्स सिकिन् । अर्जुन गुरुङ उनको पहिलो डान्स गुरु थिए । अहिले उनी फ्रान्स आर्मीमा छन् । पहिलो चोटी उनैले हो, हात समाएर डान्स सिकाएका ।

सोनियालाई उनले नेपाली, मोर्डन, बिबोइङ, साल्सा, डोइट् र बेली डान्स सिकाए । त्यो क्लासमा डान्स सिक्ने १३ जना थिए । उनले धेरै कुरा सिकिन् । डान्सबाहेक कसरी बोल्ने, कसरी हिँड्ने, कसरी बस्ने भन्ने कुरा सिकिन् ।

घरबाट सोनियालाई सहयोग मिलेन । डान्स फि तिर्न पनि सकिनन् । डान्स क्लास जान छाडिन् । अरुको मेला गएर पैसा कमाएर पैसा तिरेकी थिइन् । ९ कक्षा पढ्दाको कुरा हो, भ्रमणमा पोखरा, लुम्बनी, कालीदह स्याङ्जा पुगिन् ।

‘आमाले एक हजार रुपैयाँ दिनुभएको थियो खर्चका लागि, सरहरूले स्टिमर चढ्नका लागि दुई सय रुपैयाँ अतिरिक्त माग्नुभयो,’ उनले भनिन्, ‘यता डान्स क्लासको पैसा तिर्नु पर्ने थियो, त्यो पैसा बचाउन खोजेँ, भ्रमणमा डुंगा चढ्न हुँदैन भनेर ढाटेँ, त्यहाँबाट ६ सय रुपैयाँ बचाएर डान्स क्लासको पैसा तिरेँ ।’

सोनिया १२ वर्षअगाडि काठमाडौँ प्रवेश गरिन् । धादिङको एउटा एफएममा स्वर्गीय सन्तोष बानियाँको अन्तर्वार्ता सुनिन् । सन्तोषले गीत लेख्ने गर्थे । ‘त्यो सुनेर उहाँको मोबाइल नम्बर टिपेँ, उहाँलाई कल गरेँ,’ सोनियाले भनिन्, ‘उहाँले काठमाडौँ बोलाउनु भयो, ‘मोही खान्छौ कि पानी ?’ गीतमा साइड डान्सरको भूमिका दिनुभयो ।’

त्यसपछि उनी फेरि गाउँ फर्किन् । काठमाडौँ कोहीसँग चिनजान थिएन ।

सोनियालाई फेरि अर्को भिडिओ खेल्ने प्रस्ताव आयो । तर, सुरुमा आफै लगानी गर्नु पर्ने रहेछ । १० हजार रुपैयाँ लगानी गर भनेपछि उनले पैसाको जोहो गर्न थालिन् । कानमा सुनको आधा तोलाको रिङ लगाएकी थिइन् । त्यही सुनको रिङ १२ हजार रुपैयाँमा बन्धकी राखेर उनी काठमाडौँ आइन् ।

उनले तीजको गीतमा अभिनय गरिन् । त्यो बेला सिडीको जमाना थियो । फेरि फर्केर पढाइमा लागिन् । तर, पढाइमा उनको ध्यान गएन ।

सोनियालाई त मोडल बन्न मन थियो । पढाइलाई निरन्तरता दिन सकिनन् । उनी आफ्नो रहर पूरा गर्न तेस्रोपटक काठमाडौँ आइन् । गीत संगीतमा लगानी गर्न नसकिने अवस्था आएपछि उनी दुबई हानिइन् । दुबई बस्दा एउटै क्लबमा लगातार पाँच वर्ष डान्स गरिन् । आफू डान्स गर्दै, अरुलाई पनि सिकाइन् ।

सोनियाको पहिलो कमाई

सोनियाले दुबईमा नृत्य गरेर पहिलोपटक ८० हजार रुपैयाँ कमाइन् । त्यो पैसा उनले आमालाई पठाइन् ।

‘उहाँ एकदमै खुसी हुनुभयो, खुसीले रुनु भयो, उनले त्यो पल सम्झिदै भनिन्,’ उनले भनिन्, ‘छोरीले कमाउन सक्ने रहेछ भन्ने ठान्नु भयो ।’

दुबई बस्दा उनलाई थुप्रै अवसरहरू आए । तर, उनी अरु देश गइनन् । त्यहाँ बस्दा थाइल्याण्ड, बंगलादेश, पाकिस्तान, भारतका साथीहरूसँग उनको भेट भयो । त्यहाँ उनले धेरै कुरा सिकिन् ।

पहिलाभन्दा नाच्ने शैली सुधारियो । आत्मविश्वास पलायो । दुःख, संघर्ष के हो भन्ने सिकिन् । जीवनमा संघर्षमा कति गर्नु पर्ने रहेछ, त्यसको बोध भयो । जति दुःख पाए पनि उनी डराइनन् ।

हालसम्म सोनियाले एक दर्जन भिडिओमा अभिनय गरिन् । त्यसमध्ये ‘तिम्रो हातैमा’ भन्ने भिडिओ चर्चित बन्यो । त्यसको प्रोड्युसर उनी आफै थिइन् । सिनेमाटोग्राफर थिए, अजय रेग्मी । यसमा हिरो आकाश श्रेष्ठ र सोनियाले खेलेकी छिन् ।

यसमा शब्द र संगीत योगेशकाजी शाहको थियो । बिन्दु परियार र योगेशकाजीको स्वर रहेको गीतमा निर्देशन शिव बि.क.को थियो । कल्चरल, मोडर्न र साल्सा डान्समा उनले नाम कमाइसकेकी छन् ।

समाज सेवामा मन

सोनिया समाजसेवामा पनि उत्तिकै सक्रिय छिन् । उनले तीनकुने जेलमा बन्दीलाई कपडा प्रदान गरेकी थिइन् । लगनखेल, महालक्ष्मी, सातदोबाटोमा, कोटेश्वरमा बस्नेलाई ब्लांकेट बाँडेर सहयोग गरिन् । गोकर्णको संयुक्त अपांग केन्द्र आश्रममा बसिरहेका ५० जनालाई उनले खाना खुवाइन् ।

यस्तै, हात्तीबन र राजधानीका अन्य सडकमा बाटोमै बसेर जीवनयापन गर्नेहरुलाई खाना खुवाउँछिन् । इमाडोलको एक मस्जिदमा उनले आर्थिक सहयोग प्रदान गरिन् ।

सोनिया आश्रम आफै गएर खोज्दै गएर त्यहाँ आवश्यक पर्ने सरसामान वितरण गर्छिन् । सडकलाई आश्रयस्थल बनाइरहेका दीन, दुःखीको सेवामा तल्लिन हुन्छिन् । ‘जीवनमा म समाजसेवा निरन्तर गर्दै जान्छु,’ उनले भनिन्, ‘यो मेरो आदत नै बनिसकेको छ ।’

हालसम्म सोनियाले थुप्रै सम्मान पत्र तथा अवार्डहरु प्राप्त गरिसकेकी छन् । सोनिया बहुप्रतिभाशाली कलाकार हुन् । सन् २०१९ मा स्पिड मिडिया इन्टरटेन्मेन्टले भारतमा आयोजना गरेको कार्यक्रममा ‘इन्डिया इनर्जी ट्यालेन्ट अवार्ड’ हात पारिसकेकी छन् ।

उनलाई जीवनमा नयाँ–नयाँ कुराहरु सिकिरहन मन पर्छ । ब्युटिसियनको तालिम पोहोर जेठमा लिएकी उनले नेल आर्टको पनि तालिम लिएकी छन् । ब्युटिसियनको काम पनि उनले एक वर्ष गरिन् ।

अबको योजना के छ त ? ‘समाजसेवा र कलाकारितामा लाग्ने,’ उनले छोटो जवाफ दिइन् ।

प्रतिक्रिया