सोमबार, वैशाख १५, २०८२

रास्वपाको एक वर्ष

रास्वपामा ‘ब्रान्डिङ’ रवि !

शितल शर्मा २०८० असार ६ गते १९:५६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापनाको एक वर्ष पूरा गरेको छ । गत वर्ष ७ असारमा टेलिभिजन पत्रकारिता छाडेर रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नामको राजनीतिक दल गठन गरे ।

पार्टी स्थापनाको वर्ष दिन पारेर रास्वपाले केन्द्रीय कार्यालय धुम्बराहीबाट बालाजु सार्ने तयारी पूरा गरेको छ । नयाँ केन्द्रीय कार्यालयमा आज बुधबार पूजापाठ समेत गरिएको थियो । भोलि ७ गते प्रधानमन्त्री देखि अन्य राजनीतिक दलका नेताहरुलाई बोलाएर उसले चियापान कार्यक्रम आयोजना गर्न लागेको छ ।

पार्टी स्थापनाको छोटो अवधीमै संसदमा नयाँ तरंग पैदा गर्ने गरी संसदको चौथो शक्ति बन्न सफल भएको रास्वपामा रवि लामिछाने अहिलेलाई एकल ब्रान्ड जस्तै छन् । तर यो पार्टीमा अर्थशास्त्री डा स्वर्णिम वाग्ले लगायतका नेताहरुको प्रवेशले थप मजबुत पनि बनेको छ ।

संसदमा रास्वपाका एक से एक सांसदहरु बहसमा खारिन थालेका छन् । तर यो पार्टीमा वान म्यान आर्मी जस्तो रवि लामिछानेकै ब्रान्डिङले पार्टी चलेको छ । अर्थात रवि भनेकै रास्वपा र रास्वपा भनेकै रवि लामिछानेको पार्टी जस्तो देखिएको छ ।

रविलाई राजनीतिमा आउने भोक जब उनी टेलिभिजन पत्रकारितामा चर्चित हुन थाले त्यसबेला देखिकै हो ।

अझ उनको जीवनमा ३० साउन २०७६ मा आफैसँग पत्रकारितामा सहकार्य गरेका शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको घटना जोडिएर आयो, उनी पक्राउ समेत परे । तर उनको पक्राउको विरोधमा चितवनमा हजारौं मानिस विरोधमा उत्रिए । त्यसवेला रविले अब आफु पनि राजनीतिमा नआई नहुने निश्कर्ष निकालिसकेका थिए ।

तर उनी उपयुक्त समयको पर्खाईमा थिए । देशभित्रका पूराना दलहरुप्रति जनतामा आकर्षण थिएन । माओवादीको १० वर्षे जनयुद्ध र त्यसैको जगमा भएको २०६२र०६३ को जनआन्दोलनले ब्यवस्था परिवर्तन भएको थियो, जनताको अवस्थामा कुनै परिवर्तन आएको थिएन । कांग्रेस, एमाले र माओवादी जस्ता पूराना दलहरुभित्रै वैकल्पिक राजनीतिक शक्तिको चर्चा शुरु भएको थियो । डा बाबुराम भटटराई, उज्जवल थापा लगायतले नयाँ बैकल्पिक राजनीतिक शक्तिको चर्चा र अभ्यास सुरु गरेका थिए । तर त्यो प्रयास पनि सार्थक हुन सकिरहेको थिएन ।

रवि आफैको समेत केही प्रतिशत सेयर रहेर सुरु गरेको ग्यालेक्सी फोर के टेलिभिजनमा उनको मुख्य सञ्चालक अध्यक्ष जीबी राईसँग आन्तरिक द्दन्द्द सुरु भएको थियो । आफै जोडिएर खोलेको टेलिभिजनमा छोटै समयमा कि बाहिरिनु पर्ने या सम्झौता गरेर बस्नुपर्ने अर्का पेशागत बाध्यता उनका लागि आईलागेको थियो । भलै, यो विषयमा उनले मुख खोलेका छैनन । तर ग्यालेक्सी फोर के मा उनी हट्ने या हटाइने गरी वतावरण अस्वस्थ्थ हुँदै थियो ।

त्यही समय अर्थात २०७९ बैशाखमा मुलुकमा स्थानीय तह चुनाव भयो । काठमाडौँ, धनगढी, धरान लगायतका विभिन्न स्थानमा ठूलो मतान्तरले स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भए । त्यसपछि भने उनलाई लाग्यो, टेलिभिजन पत्रकारिता चटट छोडेर राजनीतिमा फड्को हान्ने उपयुक्त समय यही हो ।

त्यसपछि नै हो, उनले गत वर्ष २०७९ असार ७ मा राष्ट्रिय सभा गृहमा टेलिभिजन कार्यक्रमबाटै कमाएका आफना शुभचिन्तकहरुलाई अगाडी राखेर औपचारिक पार्टी गठनको घोषणा गरेको । त्यही दिन उनले निर्वाचन आयोगमा पुगेर दल दर्ताको निवेदन दिए ।

‘अब जान्नेलाई छान्ने’ नारा दिए । चुनाव चिन्ह्र गोलाकारभित्रको घण्टी लिए । (अहिले निर्वाचन आगोगले गोलाकार हटाईदिएको छ । घण्टी मात्र चुनाव चिन्ह्र छ ) देशका मुख्य शहरहरुमा स्वतन्त्रको चर्चा चलिरहेका बेला उनले चलाखीपूर्ण ढंगले पार्टी नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखे । सुरुमा त्यसरी स्वतन्त्र नाम राख्न नपाइने भनी राजनीतिक वृत्तमा विरोध भयो । तर पनि १७ असारमा उनको दललाई निर्वाचन आयोगले बैधानिकता दियो । उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी विधिबत रुपमा निर्वाचन आयोगमा दर्ता भयो ।

रवि लामिछानेले निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा २१ जनाको केन्द्रीय समिति बनाए । उनले पार्टीमा विभिन्न पेश र पृष्ठभूमिमा चिनिएका, तर राजनीतिका नयाँ अनुहार लाई समेटेर केन्द्रीय समिति बनाए । बोल्न सक्ने, सवालहरू उठाउन सक्ने र मुद्दा बुझेका युवा पुस्ता खासगरी उनको पार्टीभित्र प्राथमिक सूचीमा परे ।

पार्टी गठनको ६ महिनामै पहिलो पटक चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा २१ सिट जितेको छ। प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ १३ सिट गरी कुलमा २१ सिट रास्वपाले प्रतिनिधिसभामा जितेको छ ।

समानुपातिक तर्फ ११ लाख ३० हजार ३ सय ४४ मत ल्याएर रास्वपा प्रतिनिधि सभामा चौथो ठूलो दल बनेको छ।

त्यसो त रवि लामिछानेको पार्टी सरकारमा समेत सहभागि भएको थियो । उनले एकैपटक उपप्रधान तथा गृहमन्त्रालयको बागडोर समेत सम्हाल्न पाए केही समय । तर विदेशी नागरिकताको विषयमा परेको विवाद र नेपालको कानुनअनुसार स्वतः खारेज हुने नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको मुद्दामा सर्वोच्च अदालतको १३ माघ २०७९ को फैसलाले रवि लामिछानेले सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री, संसदीय दलको नेता र पार्टी सभापति पद एकै पटक गुमाए ।

त्यसपछि उनी फेरि उपचुनावमार्फत संसदमा छन् । उनको पार्टी अहिले प्रतिपक्षमा छ ।

रवि आफै नागरिकता विवादमा परेर उपचुनावमा दोस्रो पटक फेरि झन् बढी मतका साथ बिजयी भएर आए । तीन क्षेत्रमा भएको उपचुनावमा अर्काे एक क्षेत्र थप जित्दै अहिलेका राष्टपति रामचन्द्र पौडेलले जितेको निर्वाचन क्षेत्रमा भएको उपचुनावमा डा स्वर्णिम वाग्लेलाइृ जिताएर थप एक सिट उनको दलले संसदमा थप गरयो ।

यी चुनावहरुमा रविकै व्रान्डिङले काम गरेको रास्वपाका नेताहरु निर्धक्क बताउँछन् ।

प्रदेश सभा निर्वाचनमा भने यो दलले भाग लिएको थिएन। उसको प्रदेश संगठनात्मक संरचना बनिनसकेको र संगठनात्मक संरचना नबन्दा चुनाव लड्न दल दर्ता गर्न नसक्दा उसले प्रदेश सभामा चुनाव नलडेको हो । तर बाहिर भने रास्वपाले त्यसवेला पनि प्रदेशमा किन चुनाव नलडेको भन्ने यो तथ्य भने लुकाएको छ । जुन अहिलेसम्म पनि लुकाईरहेकै छ ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न जाँदा उसले प्रतिनिधिसभा र प्रदेश सभा दुवै तर्फ चुनाव लड्ने गरी दर्ता गराउन पुगेको थियो । तर अन्तिम दिन प्रदेशको पार्टी संरचनाविना दल दर्ता गर्न नमिल्ने भएपछि प्रतिनिधिसभामा मात्र चुनाव लड्ने गरी दल दर्ता गरेर आएको हो ।

रविको कोर टिम

शासकीय अव्यवस्थाले आजित बनेको ठूलो समूहलाई उत्तेजक पत्रकारिताका बलमा अन्धभक्त बनाउन सफल रविको राजनीतिक पथ छोटौं समयमा फष्टाउन पुग्यो । ६ महिनाकै बीचमा समानुपातिक तर्फ ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त गर्नु, प्रत्यक्षमा ८ सिट जित्नु र कुलमा २१ सांसदसहित संसदको चौथो दल बन्नु रवि लामिछानेको पार्टीको ठूलो सफलता हो ।

टेलिभिजनबाट राजनीतिमा ‘सेलेब्रिटी इन्फ्लुएन्स’ गर्न सजिलो हुन्छ। कारण, अरू माध्यमभन्दा बढी दर्शकसँग नजिक महसूस गराउने र जनताको मानवीय पक्षमा बढी केन्द्रित हुने यसको विशेषता।

अघिल्ला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, भारतीय अभिनेत्री स्मृति इरानी टीभीबाटै लोकप्रियता कमाएर राजनीतिमा लब्धप्रतिष्ठ बनेका अन्तर्राष्ट्रिय उदाहरण हुन्।

नेपालमा पनि रवि लामिछाने त्यसै गरी राजनीतिमा उदाएका नेता हुन् ।

उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा रविको आफ्नै कोर टिम छ । राजनीतिक निर्णयका लागि उनको भित्री कोर टिममा उपसभापति डोलप्रसाद अर्याल र महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकाल मुख्य पात्रका रुपमा छन् । यदाकदा राजनीतिक निर्णयमा दिपक बोहोरा पनि यो टिममा जोडिएका हुन्छन् । रविको पार्टीमा अहिले डा स्वर्णिम वाग्लेको समेत प्रवेश भएको छ । यधपी अहिले उनको पदीय जिम्मेवारी पार्टीमा तय भईसकेको छैन । स्वर्णिम रास्वपा प्रवेश गरेसँगै अव रास्वपामा रविको कोर टिम पनि फराकिलो हुन थालेको छ ।

तर आर्थिक विषयमा मुख्य हयान्डलिङ डोलप्रसाद अर्याल, महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकाल, दिपक बोहोरालाई साथ दिन थप दुई नेता पनि जोडिन्छन् । त्यसमा पहिलो पात्र हुन्, रविको आफ्नै श्रीमती निकिता पौडेल लामिछाने र अर्का पार्टी केन्द्रीय सदस्य दाङका विपिन कुमार आचार्य ।

पार्टीका हर गतिविधि र निर्णय रविको पार्टीभित्र करिव करिव यत्ति नेताहरुमै सिमित हुने गरेको रास्वपाकै नेताहरु बताउँछन् ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया