बुधबार, चैत २५, २०८२

‘दुर्गा प्रसाईको ऋण तिर्नु पर्दैन’ अभियानले सहकारी संस्थामा जोखिम

मेरोन्यूज २०८० असार २३ गते १४:३९

काठमाडौँ । लघुवित्त र सहकारीको ऋण तिर्नु पर्दैन भन्ने अभियानले बाराका सहकारी संस्थामा नकारात्मक प्रभाव पारेको सहकारीकर्मीले बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

गलत अभियानका कारण जिल्लाका अधिकांश सहकारी संस्थामा ठूलो परिणाममा ऋण भाखा नाघेको साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनीले बताए ।

जिल्लाका १६ वटा साना किसान कृषि सहकारी संस्थाहरू र एक सय ५० को हाराहारीका बचत तथा ऋण सहकारी संस्थाहरूमा यस्तो प्रभाव परेको हो ।

उनका अनुसार भाखा नाघेको ऋणको अनुपात १५ प्रतिशतसम्म पुगेको छ । जबकी यस्तो ऋण ५ प्रतिशतभन्दा कमै रहेको राम्रो मानिन्छ ।

‘गलत हौवाको पछाडि लाग्ने सदस्यहरूका कारण सहकारीमा ऋण जोखिम बढेको हो, सदस्यहरूको बचत रकम नै ऋणका रुपमा परिचालन हुने हुँदा कहीँ कसैले मिनाह गर्ने कुरा हुँदैन, तर मानिसहरू भ्रममा परेर ऋणमा डुबिरहनु भएको छ,’ अध्यक्ष सहनीले भने ।

यसै सन्दर्भमा छलफल गर्न बिहीबार संघको जितपुर सिमरा उपमहानगरको वडा नं. १५ डुमरवानमा बसेको बैठकले ऋण तिर्नु पर्दैन भन्ने अभियानलाई निरुत्साहित गर्ने निर्णय गरेको छ ।

यस अभियानका कारण सहकारी संस्थाहरूले लगानी गरेका कर्जा असुलीमा नकारात्मक असर परेको भन्दै गलत अभियान सञ्चालन गर्ने उपर कारबाही गर्न माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बारा र पालिकाहरूमार्फत त्यस्ता व्यक्तिहरूको पहिचान गरी कारबाहीका लागि अनुरोध गर्ने निर्णय भएको संघका सचिव रामएकवाल चौधरीले जानकारी दिए ।

बारामा करिब ४५ हजार घरपरिवार सहकारीमा आवद्ध छन् । झण्डै १५ अर्ब बराबरको कारोबार सहकारीहरूले गरिरहेका छन् ।

केही महिनाअघि मात्रै मेडिकल व्यवसायी दुर्गा प्रसाईले सहरकारीले धेरैको घरबार उठाएको भन्दै ऋण तिर्नु पर्दैन भन्ने अभियान थालेका थिए ।

प्रतिक्रिया