पोखरामा दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृहको सुरुवात
गण्डकी प्रदेशमा खपत हुने पेट्रोलियम ३० दिनलाई बचत गर्न पुग्ने

पोखरा । पोखरामा मुलुककै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृहको सुरुवात भएको छ । सोमबार पोखरामा एक करोड लिटर डिजल भण्डारण क्षमताका दुई वटा गृहको उद्घाटन गरिएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडामा नेपाल आयल निगमले निर्माण गरेको डिजल भण्डारण गृहको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरे ।
नेपाल आयाल निगमका प्रबन्ध निर्देशन ई उमेशप्रसाद थानीले गगनगौँडामा रहेको यस डिपोको भण्डारण क्षमता विस्तारले गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोसेढुङ्गा सावित हुने बताए । नेपाल आयल निगमले विसं २०५८ सालपछि निगमको आफ्नै लगानीमा अघि बढाई मुलुककै डिजल भण्डारणको हिसाबले दोस्रो ठूलो पेट्रोलियम भण्डारण रहेको उनको भनाइ छ ।
‘निर्माण भएका यी भण्डारण गृह तथा पूर्वाधारहरू निगमको भौतिक पूर्वाधारमा प्रगति, नवीनता र आधुनिकताको प्रतीकका रूपमा खडा भएका छन्,’ उनले भने ।
भण्डारण गृह पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगै सञ्चालन आउनुपर्ने भए पनि केही ढिलाइ गरी सञ्चालनमा ल्याइएको छ ।
निगमका प्रबन्ध निर्देशक थानीका अनुसार गण्डकी प्रदेशमा हरेक दिन करिब चार लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थ खपत हुन्छ । हाल एक दिनमा यस प्रदेशमा तीन लाख २० हजार लिटर डिजल र एक लाख ६० हजार लिटर पेट्रोल बिक्री वितरण भइरहेको छ । यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजल र १० लाख १० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ ।
प्रदेशभरको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा डिजलको माग करिब सात दिन र पेट्रोलको माग करिब दुई दिन मात्रै धान्न सक्ने क्षमता छ ।
थानीका अनुसार आज उद्घाटन भएका नयाँ भण्डारण परियोजना सञ्चालनमा आएपछि प्रदेशमा डिजलको भण्डारण करिब ३० दिनभन्दा बढी पुग्नेछ भने साविकको सात सय ६० केएल क्षमताको मट्टितेल ट्याङ्कको पेट्रोल ट्याङ्क भएको रूपान्तरणले दुई दिनका लागि मात्रै पुग्ने पेट्रोलको भण्डारण करिब १० दिनभन्दा बढी माग धान्न सक्ने भएको छ ।
‘विसं २०५८ पछि क्षमता विस्तार र स्तरोन्नति हुन नसकेको यस डिपो अब अमलेखगञ्ज, थानकोटपछि नेपालको तेस्रो ठूलो पेट्रोलियम भण्डारण गृह बनेको छ,’ उनले भने ।
निर्माण सम्पन्न परियोजनाले काठमाडौँलगायतका अन्य क्षेत्रको ब्याकअपका रूपमा पनि काम गर्ने उनको भनाइ छ । नवनिर्मित भण्डारण गृहमा एक नयाँ पहुँच सडक, २४ लाख लिटर क्षमताको पानी भण्डारण ट्याङ्क, चालक तथा सुरक्षाकर्मीका लागि नयाँ संरचना निर्माण गरिएको छ । इन्धन भण्डारण ट्याङ्क, अग्नि नियन्त्रण उपकरण तथा प्रणाली र यसमा जडान भएका संरचनाहरू जर्मन प्रविधिमा आधारित पूर्ण स्वचालित छन् ।
डिजल लोड तथा अनलोड सुविधा पूर्णरूपमा स्वचालित र उच्च प्रविधियुक्त तथा आधुनिक सुरक्षा प्रविधिमा आधारित रहेको निगमको भनाइ छ । नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० ट्याङ्करले दैनिक डिजल अनलोड गर्न सक्नेछन् ।
ट्याङ्कर लोड तथा अनलोडका लागि प्रतिघण्टा एक सय २० किलोलिटर क्षमताका छ वटा पम्प जडान गरिएको छ । चार वटा लोडिङ तथा अनलोडिङ बे निर्माण सम्पन्न भएको छ । साथै भण्डारण गृहको तापमान, इन्धन, चुहावट, आगलागी लगायतको दुर्घटना पहिचान गर्न विशेष प्रविधि डिपोमा जडान गरिएको छ ।
आपत्कालीन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने एकीकृत रिमोट कन्ट्रोल प्रविधि जडान गरिएको छ । कुनै पनि कारणबाट डिपोमा आगलागी भएको खण्डमा करिब दुई घण्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताको पूर्वाधार डिपोमा निर्माण गरिएको छ । सत्तरी प्रतिशत पानी र ३० प्रतिशत फोमयुक्त नियन्त्रण उपकरण त्यसका लागि प्रयोग गर्न सकिने गरी पूर्वाधार निर्माण गरिएको छ ।
















अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
चार जिल्लामा भारी वर्षा
नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प
संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया