शनिबार, फागुन ९, २०८२

सत्ता सहकार्य गर्ने प्रधानमन्त्रीको प्रस्ताव लिङ्देनद्वारा अस्वीकार

मेरोन्यूज २०८० साउन १४ गते २१:००

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको सत्ता सहकार्य गर्ने प्रस्ताव राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अस्वीकार गरेका छन् । प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा सत्ता सहकार्यको प्रस्ताव गरेका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

प्रधानमन्त्री प्रचण्डले भेटको सुरुवातमै सत्ता सहकार्यको प्रस्ताव गर्दै भनेका थिए, ‘कोशीमा मात्रै होइन, सबैतिर सत्तामासहकार्य गरौं ।’ संघीय सरकारमा तत्काल आउनेगरी सोच्न प्रधानमन्त्रीले लिङ्देनलाई प्रस्ताव गरेका थिए । ‘

तर, अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको प्रस्तावबारे सकारात्मक जवाफ नदिएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट स्रोतले जानकारी दियो । ‘सत्तालाई हामीले प्राथमिकतामा राखेका छैनौं । भर्खर त बाहिरिएको हो’, लिङ्देनले प्रधानमन्नत्रीलाई जवाफ दिएका थिए ।

गत १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको राप्रपाले प्रचण्डले गठबन्धन बदलेपछि सत्ता छोडेको थियो । सत्ता छोड्दा राप्रपाले गठबन्धन बदल्ने प्रचण्डको निर्णयलाई नै कारण भनेको थियो ।

संघको सरकार छोडेपनि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार भइञ्जेल राप्रपा सरकारमै थियो । गएको १५ असारमा कोशीमा एमाले नेता हिक्मत कार्कीलाई नै मुख्यमन्त्रीमा विश्वासको मत दिएका थिए । तर कार्कीले विश्वासको मत नपाएपछि कांग्रेस नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भए । थापालाई राप्रपाका सांसद्ले मत दिएनन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका थापाले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर जोडेर ४७ सिट पुर्‍याए पनि संसदले थापाको नियुक्ति बदर गरिदिएको छ । त्यसपछि फेरि कोशीमा सरकार बनाउन लिङदेनसँग प्रधानमन्त्रीले सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् । कोशीमा सर्वोच्चले १७ साउनसम्म संविधानको धारा १६८ (२) बमोजिम संयुक्त सरकार गठनको समय दिएको छ । त्यसैको प्रयासस्वरुप लिङदेनलाई सत्ता सहकार्यको प्रस्ताव प्रधानमन्त्रीले गरेका हुन् ।

लिङ्देन सकारात्मक नभएपछि कोशीमा सत्ता गठबन्धनले राप्रपालाई फकाउने प्रयास असफल भएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले कोशीमा अहिलेका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर राप्रपालाई सभामुख दिने प्रस्ताव गरेका थिए । त्यो प्रस्ताव पनि लिङ्देनले अस्वीकार गरेको स्रोतले बतायो ।

प्रतिक्रिया