शनिबार, फागुन ९, २०८२

बर्षमानको प्रस्ताव : सुन तस्करीको छानबिन गर्न संसदीय समिति बनाऔँ

मेरोन्यूज २०८० साउन १५ गते १२:४०

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन तस्करीको छानबिनका लागि संसदीय वा न्यायिक समिति बनाउन प्रस्ताव गरेका छन्। सोमबार बसेको पार्टी पदाधिकारीहरुको बैठकमा विशेष समय लिएर बोलेका पुनले भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए।

Advertisement
nepal life insurencenepal life insurence

सरकारको भ्रष्टाचार विरोधी अभियान सही रहेको भन्दै उनले त्यसमा पार्टी पंक्तिको साथ र सहयोग रहेको बताए ।

साथसाथै, उपमहासचिव पुनले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बतीमुलका बेल्जियन नागरिक दावा छिरिङसँग कुनै सम्बन्ध नरहेको बताए ।

सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितताविरोधी अभियानलाई अन्यत्रै मोड्ने नियोजित चलखेलका रुपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको टिप्पणी उनले गरे।

आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको प्रष्टीकरण पुनले दिए । ‘दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्वीरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो,’ नेता पुनले भनेका छन्, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो ।’

पुनले सुन तस्करी प्रकरणलाई लिएर कतिपयले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको तथा उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम मुछ्ने प्रयास भएको भन्दै सत्यतथ्य छानबिनको माग गरे। उनले छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको र अरु नेता पनि तयार हुनुपर्ने बताए।

पुनले पार्टीबाहिर वा भित्र अमुक व्यक्ति वा एक निकायको नाम जोडिँदैमा अर्को पक्षले अपराधीकरण गर्ने प्रवृत्ति सह्य नहुने बताए।

प्रतिक्रिया