शुक्रबार, वैशाख ४, २०८३

एकै थलोमा अग्रज र अनुज कलाकार

मेरोन्यूज २०८० साउन २१ गते ८:५३

अन्नपूर्ण (कास्की) । पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिए । उनीसँगै अन्य कलाकार पनि त्यहीँ थिए । शनिबार उनीहरु सबैले विन्ध्यवासिनीबाट देखिएको दृश्य क्यानभासमा उतार्दै गरेको देखिन्थ्यो । वात्स्यायनको अनुभव र उनको कलासँग अग्रज र अनुज कलाकार भलाकुसारी गरिरहेको भेटिन्थ्यो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

अग्रज र अनुज कलाकारलाई एकै थलोमा भेट गराउने चाँजोपाँजो पोखरेली युवा सांस्कृतिक परिवारले मिलाएको थियो । अनुभवी र सिक्दै गरेका कलाकारलाई समेट्दै पोखरेली युवा सांस्कृतिक परिवार ६१ औँ शृङ्खलाको ‘समता कला कार्यशाला’ गरिरहेको थियो । बिहान १०ः३० बजे निर्धारित समयमै कार्यक्रम सुरु भयो ।

उपस्थित कलाकार क्यानभास, स्ट्यान्ड, रङ, पानी, पेन्सिल, ब्रस चलाउनमै व्यस्त थिए । पानी रङमा खेल्नेहरूले पेन्सिलको डोबमाथि रङ लगाउँदै थिए । एक्रेलिक चित्र कोर्ने पनि व्यस्त रहे । करिब दुई घन्टाको अन्तरालमा सबैले सुन्दर चित्र तयार गरे । अनि विन्ध्यवासिनीमा पुगेका भक्तजन र दर्शकका लागि प्रदर्शन गरियो ।

अग्रज र अनुजको एकैथलोमा बसेर चित्र कोर्दा कोही सानो–ठूलो त थिएनन् । तर अनुभवीसँग रहँदा अनुजलाई राम्रै फाइदा भयो । वात्स्यायनसँगै अग्रज कलाकार बुद्धि गुरुङ, मनोज तामाङ, रिक गुरुङ, थम्मनसिंह सुनार, दलबहादुर गुरुङ, एलिता गुरुङ, निशान थापालगायत दुई दर्जन कलाकार लकडाउनपछि भौतिकरूपमै सहभागी भएर चित्र कोरेकाले सबै खुसी थिए ।

समता कला कार्यशालाले यसरी अग्रज र अनुजलाई एउटै थलोमा काम गर्ने अवसर दिँदा नयाँ कलाकारले आफूलाई चम्काउने अवसर पाएको कलाकार निशान थापाले बताए । “हामीलाई सबै कुरा थाहा हुँदैन । अग्रजसँगै काम गर्दा उहाँहरूको अनुभव र टेक्निकले नयाँ कुरा सिर्जना गराउन सघाउँछ”, उनले भने, “पोखरेली युवा सांस्कृतिक परिवारले जस्तै अरु संस्थाले पनि यसरी अग्रज र अनुज एकै ठाउँमा चित्र कोर्ने वातावरण मिलाउनुपर्छ ।”

वरिष्ठ कलाकार वात्स्यायानले समता कला पाठशालाले पोखरामा छरिएर रहेका कलाकारलाई एकै ठाउँमा ल्याउने काम गरेको बताए । सुरुमा ग्रामीण भेगमा गएर त्यहाँको प्रकृति, संस्कृति र भूगोल चित्रमा उतार्ने काम गरिएकाले पोखरालाई पानीरङको पाठशालाका रूपमा चिनाएको उनले सम्झिए । उनले भने, “पोखरा पानी रङको सहरमा त चिनियो नै गाउँ–गाउँमा गएर त्यहाँको प्रकृति, संस्कृति र भूगोल चित्रमा उतार्दा कलाकारको आर्यआर्जनको बाटो पनि खुल्यो ।”

पछिल्लो समय पानीरङ छाडेर एक्रेलिकतर्फ कलाकार र ग्राहक आकर्षित भएकाले पानी रङको महत्व बुझाउनुपर्ने वात्स्यायानको सुझाव थियो । “पछिल्लो समय पानीरङ छाडेर एक्रेलिकतर्फ कलाकार र ग्राहक आकर्षित छन् । एक्रेलिकमा पनि जान पाइयो तर पानीरङलाई मर्न दिनु भएन”, उनले भने, “एक्रेलिक राम्रो भन्ने ग्राहकको मानसिकता हटाउन कलाकार नै लाग्नुपर्छ । यसका लागि राम्रो कागज र रङ प्रयोग गर्नुपर्यो ।” कलाकारले नयाँ–नयाँ तरिका सिक्नुपर्ने जनाउँदै उनले पोखरेली चित्रकलालाई अझै सुधार्दै जानुपर्ने बताए ।

कलाकार बुद्धि गुरुङले २०४२ सालदेखि पोखरेली कलाकार गाउँघरको भ्रमण गर्दै कला सिर्जनामा निरन्तर लागेको बताए । उनले भने, “लामो समयदेखि समता कला कार्यशालाले अग्रज र अनुज दुवैलाई एउटै थलोमा काम गर्ने अवसर दिँदा नयाँ कलाकारले आफूलाई निखार्ने अवसर पाएका छन् ।”

पोखरेली युवा सांस्कृतिक परिवारका सल्लाहकार कवि तीर्थ श्रेष्ठले कलाको विकासका लागि अरुको भर परेर होइन, आफ्नै हातलाई क्रियाशील र सिर्जनशील बनाउनुपर्ने बताए । उनले कला कार्यशालामा कोरिएका चित्र प्रदर्शनीमा रुपान्तरण गरेर आम मानिससमक्ष पुर्याउन आग्रह गरे ।

पोखरेली युवा सांस्कृतिक परिवार प्रत्येक तीन महिनाको तेस्रो शनिबार समता कला कार्यशाला सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले बताए । उनले आगामी दिनमा अझ चुस्तदुरुस्त र व्यवस्थित कला कार्यशाला आयोजना गरिने जानकारी दिए ।

प्रतिक्रिया