सोमबार, मंसिर ८, २०८२

अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने चलचित्र बनाउनुपर्छः सञ्चारमन्त्री

मेरोन्यूज २०८० साउन २१ गते १८:४६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने चलचित्र बनाउनुपर्नेमा जोड दिएकी छन् ।

पहिलो नेपाली चलचित्र आमाका अभिनेत्रीहरु भुवन चन्द, चैत्यदेवी सिंह र बसुन्धरा भुसालले स्थापना गरेको भुवन चैत्य बसुन्धारा फाउण्डेशनले आयोजना गरेको पुरस्कार अर्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपाली चलचित्रहरु बिदेशी चलचित्रहरुसित प्रतिष्पर्धा गर्नसक्ने बनाउने आवश्यक रहेको बताइन् ।

यसका लागि सरकारको नीतिगत सहयोग हुने र चलचित्र निर्माताहरुले पनि गुणस्तरमा ध्यान दिनुपर्ने उनले बताइन् । हरेक क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्न त्यही जानुपर्ने अवस्थाको अन्त्य भएको आजको डिजिटल युगमा विभिन्न देशका अभ्यासहरुबाट सिकेर गुणस्तरीय चलचित्र बनाउनतिर ध्यान दिन मन्त्री शर्माले सम्बद्ध पक्षलाई आग्रह गरिन् ।

चलचित्र क्षेत्रको विकास र यसमा जीवन अर्पण गर्ने सर्जक र स्रष्टाहरुको सम्मानमा सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माले बताइन् । हिजो श्वेत पर्दाबाट सुरु भएको नेपाली चलचित्र क्षेत्र आज डिजिटल युगमा प्रवेश गरे पनि नियम कानुन पुरानै रहेकाले त्यसमा आवश्यक परिमार्जनको काम थालिएको पनि उनले जानकारी दिइन् । चलचित्र बोर्डले तयार पारेको ऐन परिमार्जनको मस्यौदा मन्त्रालयमा छलफल गरेर चाँडै मन्त्रिपरिषद्मा लैजाने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

उनले समाजका हरेक क्षेत्रमा योगदानहरुको उचित सम्मान हुनुपर्ने बताइन् । ‘सबै मानिस सबै क्षेत्रमा लाग्न सक्दैनन् तर जो जुन क्षेत्रमा लागेको छ, उसले निष्ठापूर्वक काम गरेको छ कि छैन भनेर समाजले मूल्यांकन गर्नुपर्छ,’ शर्माले भनिन् ‘हरेक क्षेत्रमा लागेर समाजका लागि योगदान गर्ने र व्यक्तिगत स्वार्थका लागि काम गर्नेहरुको बिचमा समाजले नै भिन्नता छुट्याउनुपर्छ, त्यही नै ठूलो सम्मान हो ।’

राजनीतिक, कर्मचारी वा अन्य कुनै पनि क्षेत्रमा केही मानिसले गर्ने कमजोरीलाई मूलधार बनाउने र राम्रो काम गर्नेहरुको चर्चा नहुने परिपाटी समाजका कायम रहेको उल्लेख गर्दै उनले यसलाई सच्याएर हरेक क्षेत्रमा राम्रो काम गर्नेहरुलाई सतहमा र नराम्रो काम गर्नेहरुलाई किनारामा राख्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया