आइतबार, वैशाख १४, २०८२

सबैभन्दा पाको उमेरमा १२ पास गर्ने रत्नकुमारीको छचल्किएको खुसी

उर्मिला शर्मा २०८० साउन ३१ गते ११:५५

काठमाडौं । इच्छाशक्ति चाहिन्छ, पढ्नलाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेकी छिन्- रत्नकुमारी सुनुवार । १८/१९ वर्षका कलिला भाईबहिनीले १२ कक्षा पास गरेको खुसीयाली साटिरहेका बेला ८० वर्षीय रत्नकुमारी सुनुवारले पनि १२ कक्षा पास गरेकी छिन् ।

उनको दैनिकी कुनै युवा विद्यार्थीको भन्दा फरक थिएन । उनी यसवर्ष १२ कक्षाको परिक्षा दिने सवैभन्दा पाका उमेरकी विद्यार्थी थिइन् । उनले परिक्षामा कस्ती गर्लिन् ? उत्र्तिर्ण होलिन/ नहोलिन उनलाई पढाउने शिक्षक देखि उनले पढ्ने विधालय, घर- परिवार, छरछिमेकदेखि उनलाई जान्ने बुझनेहरु सबैका लागि कौतुहलको विषय थियो ।

मंगलबार साँझ प्रकाशित भएको १२ कक्षाको परिक्षाफलपछि रत्नकुमारीप्रति चासो राख्ने सवैको कौतुहलता मेटिएको छ । अर्थात उनले १२ कक्षाको परिक्षा उर्तिण गरेर सबैको मुहारमा खुसी बाडिदिएकी छिन् ।

उनी आफै पनि मख्ख छिन् । जवानीमा श्रीमानको सुख, त्यसपछि छोराछोरीको भविश्यका लागि आफनो पढ्ने रहर मारेर बसेकी उनले जव श्रीमान नेपाली सेनाबाट रिटायर्ड भए, छोराछोरी उच्चशिक्षा अध्ययन गरेर आफै आफनो खुटटामा उभिनसक्ने भए, त्यसपछि मात्र बल्ल उनलाई लागेको थियो – अब मेरो पढ्ने पालो ।

पढ्नलाई उमेरले कुनै छकेबार लगाउँदैन भन्ने उनी एउटा उदाहरण हुन् । उनले आफनो दैनिकी आफै बनाउन थालिने । त्यही दैनिकीभित्र पढ्ने समय पनि उनको थपियो । त्यसपछि उनले कखरा सिक्न थालेकी थिइन् ।

छोराबुहारी आफ्नै काममा, बूढो सुतेको सुत्यै गर्ने, नातिहरू आफ्नै संसारमा रमाउन थालेपछि उनलाई पनि आफनो संसार बनउन मन लाग्यो । त्यही क्रममा उनले पुस्तकलाई साथी बनाउन थालेकी हुन् ।

२०५७ सालमा ५६ वर्षको उमेर हुँदा उनले कोटेश्वर, महादेवस्थानमा प्रौढ शिक्षा तालीमबाट कखरा शुरू गरेकी थिइन् । त्यसपछि उनले अहिले १२ कक्षा उर्तिण गरेकी हुन् । अहिले उनले बानेश्वर क्याम्पसबाट २।६४ जीपीएका साथ १२ कक्षा पास गरेकी छिन् ।
११ र १२ दुबै कक्षा उनले बानेश्वर क्याम्पसबाटै उत्र्तिण गरेकी हुन । ‘‘गाडी पनि बढ्ने मन छ, हेरौं स्वास्थ्य र समयले कसरी साथ दिन्छ,’ १२ उत्र्तिष भएको खुसीयालीमा उनले मेरोन्यूजसँग भनिन्,-‘ १२ पास भएपछि मन असाध्यै खुशी भएको छ । म मात्रै होइन, परिवारै हामी खुसी भएका छौं ।’

अंग्रेजी, सोसोलोजी र सोसल स्टडीज र लाइभ स्किल विषयमा उनले ए नै ल्याएकी छिन् ।

हेर्नुहोस रत्नकुमारीको १२ को मार्कसिट

एसईई पास गर्दा उनी सबैभन्दा बढी खुसी थिइन् । उनले २०७८ मा एसईई दिएकी थिइन् । त्यसबेला पनि उनले २।६५ जीपीए ल्याएर उत्तीर्ण गरेकी थिइन् । “एसईई उत्र्तिण भएको त्यो रात म सुत्नै सकेको थिइँन्, मलाई अब केही चाहिंदैन, मेरो सपना, इच्छा, आकांक्षा सबै पूरा भए, अब म आनन्दले मर्दा हुन्छ भन्ने लागेको थियो । इच्छा गर्‍यो भने त भगवान्‌ले पनि आशिष दिन्छन् कि क्या हो भन्ने लाग्छ अहिले । एसईई को कुरा मात्रै छैन अहिले १२ कक्षा नै पनि पास गरिसके” रत्नकुमारीले खुसी हुँदै भनिन् ।

रामेछापको चरीकोटमा २००१ साल मंसिर ०१ गते जन्मिएकी रत्नकुमारीलाई बाल्यकालमा गाउँलेहरूले ‘कागको फुल चोर्नसक्ने केटी’ भन्दै जिस्क्याउँथे। उनी थिइन् पनि त्यस्तै। पढ्ने इच्छा हुँदाहुँदै ‘छोरीलाई पढाए पोइल जान्छन्’ भन्ने समाजले उनको पढ्ने भोकमा रोक लगायो। बरु २० वर्ष नलाग्दै रामेछाप हावागाउँका रनबहादुर सुनुवारसँग उनको विवाह भयो।

घाँसदाउरा र मेलापातमा बितिरहेको जीवन २०३६ सालपछि केही फेरियो । उनीहरू रामेछापबाट काठमाडौं, कोटेश्वरमा बसाइँ आए। तर, श्रीमान् नेपाली सेनामा भएकाले सँगै बस्न कहिल्यै पाएनन्। एक छोरी र ३ छोरा लालनपालनको एकल जिम्मेवारी रत्नकुमारीको रह्यो।


छोराछोरी नाति समेत हुर्नेपछि भने उनलाई पढ्ने भोक जागेको थियो । त्यसपछि कोटेश्वरमा ६ महिना प्रौढ शिक्षा लिएर रत्नकुमारी अक्षर र अंक छुट्याउन, पत्रपत्रिका पढ्न र आफ्नो नामसम्म लेख्न सक्ने भइन्। त्यसपछि उनले कोटेश्वरको सूर्य क्लबमा भर्ना भइन् । रत्नकुमारी त्यसपछिका ६ वर्षसम्म सूर्य क्लबको अध्ययन केन्द्र धाइन्।


उनी २०७४ सालमा उत्प्रेरणा महिला माध्यमिक विद्यालय तीनकुनेमा कक्षा ६ मा भर्ना भइन्। त्यसपछि केही समय अस्स्थ्थताका कारण घरमै स्वअध्ययन गरिन । २०७८ मा एसईई उर्तिण गरिन् । त्यसपछि हो उनको बानेश्वर क्याम्पसमा ११ र १२ को अध्ययन । ११ र १२ अध्ययन पूरा गरेपछि उनमा अहिले थप अठोठ जन्मिएको छ- पढाइ नछाड्ने। स्वास्थ्यले साथ दिए डिग्री पनि सिध्याउने।

प्रतिक्रिया