सोमबार, मंसिर ८, २०८२

दीपाश्रीको जन्मदिनमा दीपकले भने, ‘मलाई चोट लाग्दा तिमीले ऐया भन्याै’

मेरोन्यूज २०८० भदौ ७ गते १३:२१

काठमाडौं । अभिनेता तथा निर्देशक दीपक राज गिरीले अभिनेत्री दीपाश्री निरौलालाई जन्मदिनको शुभकामना दिएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भावुक कविता पोस्ट गर्दै उनले दीपालाई आफ्नो जीवनको उत्कृष्ट साथी भएको बताएका छन् ।

दीपकले तीन दशकअघि दीपाश्रीलाई पहिलो पटक भेट्दाको अनुभव सेयर गरेका छन् । उनले सुरुमा दीपा आफूलाई घमन्डी लागेको तर बुझ्दै जाँदा उनी निकै फरक पाएको बताएका छन् ।

दीपकले आफूलाई चोट लाग्दा दीपालाई दुख्ने पनि बताएका छन् ।

यस्ताे छ उनकाे कविता :

यो केटी त कस्ती घमण्डी ! मै हूँ भन्छे !
बोल्ने त परै जाओस् हेर्दा पनि हेर्दिन !
आज भन्दा करिब ३ दशकअघि तिमीसंगको पहिलो भेट, मलाइ आज पनि याद छ ।
जसरी हामी किताबको कभर हेरेकै भरमा
पूरै विषय अनुमान गर्छौ ठीक त्यस्तै
तिमी प्रतिको धारणा पनि तुरुन्तै बनाएको थिए मैले !
तर मलाइ थाहा थिएन यो त्यही केटी हो
जो अरूको पीडालाई आफ्नो सम्झेर समय बिताउँछे !
जिन्दगीको खेलमा आफू हार्छे
तर अरूलाई जिताउँछे !
म प्रतिको तिम्रो योगदानलाई त
सिर्फ एक शब्दमा बुनेको छु ।
चोट मलाई लाग्दा, तिमीले ऐआ भनेको सुनेको छु !
कमजोरी पनि भनिदिन्छु,
यहाँ हरेकको हातमा क्यालकुलेटर छ
कहाँ फाइदा, कहाँ बेफाइदा
कहाँ जोर छ, कहाँ बिजोर छ
दिमागै दिमागको शहरमा तिमी, मनको कुरा गर्छौ
त्यसैले तिम्रो हिसाब कमजोर छ ।
मेरो जिन्दगीको उत्कृष्ट साथीलाई जन्मदिनको लाखौं करोडौं र अरबौ शुभकामना ।

प्रतिक्रिया