बिहीबार, माघ २९, २०८२

एमालेका प्रदेश अधिवेशनमा ओलीको निर्देशनविरुद्ध प्रतिस्पर्धा

मेरोन्यूज २०८० असोज १५ गते २०:१२

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका जारी प्रदेश अधिवेशनहरूमा सहमतिमा नेतृत्वसहितको कार्यसमिति चयन गर्न निर्देशन दिए । तर, त्यो निर्देशनले काम नगर्ने देखिएपछि ओलीले प्यानलगत उम्मेदवारी दिए कारबाही गर्ने चेतावनी दिए ।

ओलीको त्यो निर्देशन कतै पनि कार्यान्वयन भएन । आफ्नो निर्देशन कतै पनि कार्यान्वयन नभएपछि ओलीले विराटनगर पुगेर आफूले कसैलाई मत नमागेको प्रष्टोक्ति दिएर आफूले निष्पक्ष निर्वाचनमार्फत नेतृत्व छान्न भनेको बताए ।

कोशी प्रदेशको अधिवेशनमा विराटनगर पुगेका बेला ओलीले सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘न मैले फलानालाई भोट दिनू, फलानालाई नदिनू भनेको छु, न कार्यकर्ताले नमानेको स्थिति छ ।’

तर, सबैले बुझेका छन्, कि ओलीले आफ्नो बसमा नभएपछि त्यस्तो प्रष्टोक्ति दिएका हुन् ।

त्यही ओलीले नेतृत्वको इशारा बुझ्न प्रतिनिधि र आकांक्षीहरूलाई निर्देशन दिए पनि त्यो काम लागेन । ओलीले घनश्याम खतिवडाको नेतृत्वमा प्रदेश समिति चयन गर्न संकेत गरे, त्यही स्प्रिट बमोजिम सहमतिको प्रयास दोस्रो–तेस्रो तहका नेताहरूले गरे ।

उनीहरूको प्रयास सार्थक हुन दिएनन्, आकांक्षी विनोद ढकालले । अन्ततः कोशीमा एमालेको नेतृत्व चयन गर्न खतिवडा र ढकालबीच निर्वाचन भयो । परिणाम आइसकेको छैन ।

अधिवेशन सम्पन्न भइसकेका र हुँदै गरेका प्रदेशहरूमा प्यानलसहित नेतृत्व छान्ने क्रम जारी छ । बागमती र लुम्बिनीमा प्रतिष्पर्धाबाट एमालेको नेतृत्व चयन भएको छ । बागमतीमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबीच प्रतिष्पर्धा भयो र ढुंगेलले बाजी मारे । ढुंगेललाई ओलीको साथ थियो ।

लुम्बिनीमा अध्यक्ष ओलीकै प्रस्ताव रहेको उम्मेदवारले प्रदेश अध्यक्ष हारे । लुम्बिनीमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल पक्षको प्रतिस्पर्धा पहिलेबाट हुँदै आएको थियो । यो पटक अध्यक्ष ओलीले महासचिव पोखरेललाई साथ दिएपछि प्यानलगत प्रतिस्पर्धाको अवस्था सिर्जना भयो ।

उपाध्यक्ष पौडेल निकट राधाकृष्ण कँडेलले जिते । ओली र महासचिव पोखरेलले सर्वसम्मत गराउन भनेर अगाडि सारिएका हरि रिजाल पराजित भए । पराजयसँगै पार्टी विधान बमोजिम रिजालको केन्द्रीय सदस्य पद समेत गयो ।

ओलीको निर्देशनविपरीत कर्णालीमा पनि प्यानलसहित भएको प्रतिस्पर्धाको मतगणन भइरहेको छ । त्यहाँ तीन जनाबीच प्रतिष्पर्धा भएको छ, अध्यक्षमा । अध्यक्षमा मीनबाहुर शाही, गुलावजंग शाही र प्रकाश रोकायबीच प्रतिष्पर्धा भइरहेको छ । ओलीको साथ र समर्थन पाएका मीनबहादुर गुलावजंगभन्दा पछि छन् ।

असोज तेस्रो साता सबै प्रदेशको अधिवेशन सकिने गरी तय भएको तालिका अन्तर्गत सोमबार गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा उद्घाटन भएको छ ।

अधिवेशन हुन बाँकी सुदूरपश्चिम, मधेश र उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्व पनि सर्वसम्मत हुने संभावना कम देखिन्छ ।

प्रतिक्रिया