बाढी बीमामा कैलाली र बर्दियाका चार हजार किसान आवद्ध

टीकापुर । कैलाली र बर्दियामा सञ्चालित सूचकाङ्कमा आधारित बाढी बीमामा यस वर्ष चार हजार दुई सय ७८ किसान आवद्ध भएका छन् । कर्णाली नदीका कारण बाढीको जोखिममा रहेका कैलाली र बर्दियाका किसान बाढी सूचकाङ्कमा आधारित बाढी बीमामा आबद्ध भएका छन् । यो कार्यक्रम कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिका, राजापुर र मधुवन नगरपालिकामा लागू भएको छ ।
सूचकाङ्कमा आधारित बाढी बीमामा गत वर्ष नौ सय ३५ घरधुरी बीमामा आवद्ध भएका थिए । गत वर्ष दुईपटक बाढी आएपछि किसानले रु ३५ लाख ६५ हजार पाँच सय ७५ क्षतिपूर्ति पाएका छन् ।
बीमामा यस वर्ष यी दुर्ई जिल्लाका चार हजार दुई सय ७८ किसान आबद्ध भएका छन् । गत वर्ष परीक्षणका रूपमा सञ्चालन भएको बीमामा आवद्ध किसानले २५ प्रतिशत बीमा क्षतिपूर्ति पाएपछि यस वर्ष किसान थपिएका प्राक्टिकल एक्सनका वरिष्ठ कार्यक्रम अधिकृत चक्रबहादुर बमले बताए । “गत वर्ष किसानले रु नौ लाख प्रिमियम बुझाएका छन्”, उनले भने क्षतिपूर्ति २५ प्रतिशतका हिसाबले रु ३५ लाख ६५ हजार पाँच सय ७५ क्षतिपूर्ति पाए ।”
कर्णाली नदीमा पानी सतह बढ्दै जाँदा १० देखि एक सय प्रतिशतसम्म क्षतिपूर्ति पाउने मापदण्ड छ । गत वर्ष कर्णाली नदीमा १२ मिटरमाथि पानीको सतह पुगेकाले किसानले २५ प्रतिशत क्षतिपूर्ति पाएका हुन् । बीमा भुक्तानीको प्रक्रिया एक हप्ताको हुन्छ । किसानले भएको क्षतिवापत रकम एक हप्तामा प्राप्त गर्ने गरेका छन् ।
कर्णाली नदीमा १० दशमलव ८० मिटरसम्म पानीको सतह पुग्दा किसानले १० प्रतिशत बीमावापतको रकम प्राप्त गर्दछन् । त्यस्तै ११ दशमलव ८१ देखि १२ दशमलव ८० मिटर पानीको मापन भएपछि २५ प्रतिशत, १३ दशमलव ८० मिटरदेखि १४ दशमलव ८१ पानीको मापन भएमा ७५ प्रतिशत र १४ दशमलव ८० भन्दा बढी पानीको सतह मापन भएमा किसानले शतप्रतिशत बीमावापतको रकम प्राप्त गर्नेछन् ।
बाढी बीमा कार्यक्रम यी पालिकामा रहेका सहकारीसँगको साझेदारीमा सञ्चालन गरिएका छन् । कर्णाली नदीको चिसापानीमा रहेको जलमापन केन्द्रमा तोकिएको सूचकाङ्कमा जलस्तर पुगेपछि त्यसबाट प्रभावित हुने तल्लो तटीय क्षेत्रमा हुनसक्ने क्षतिको पूर्वनिर्धारित मापदण्डअनुसार बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्ने शर्तमा गरिएको बीमालाई सूचकाङ्कमा आधारित बाढी बीमा भनिन्छ । यो बीमा बाढीग्रस्त क्षेत्रमा बसोबास गर्ने गरिब किसानका लागि निकै प्रभावकारी हुने अपेक्षा छ ।
किसानले कर्णाली चिसापानी जलमापन केन्द्रमा नदीको बहाव १० दशमलव आठ मिटर पुग्नेबित्तिकै दाबी गर्न पाउनेछन् । प्राक्टिकल एक्सनले शिखर बीमा कम्पनीमार्फत बाढी बीमा कार्यक्रमका लागि कैलाली र बर्दियामा सघाइरहेको छ ।
जोखिम हस्तान्तरण पद्धतिमा पहुँच कायम गरेर बाढी जोखिम क्षेत्रमा बसोबास गर्ने साना किसान तथा सीमान्तकृत वर्गको आर्थिक क्षति कम गर्न कार्यक्रम लागू गरिएको हो । कर्णाली नदी किनारको जोखिम क्षेत्रमा सूचकाङ्कमा बाढी पुगेपछि किसानलाई क्षतिवापतको बीमा रकम उपलब्ध गराइने गरिएको वरिष्ठ कार्यक्रम अधिकृत बमले बताए । सूचकाङ्कका आधारमा बीमा क्षतिपूर्ति पाएपछि किसानसमेतले राहत महसुस गरेका छन् ।
पछिल्ला दुई वर्षमा बाढीका कारण धानबालीमा ठूलो क्षति व्यहोरेका कैलाली र बर्दियाका किसान बीमाले राहत हुने गरेको बताउँछन् । “बीमा गरेका अधिकांश किसानले क्षतिपूर्ति पाए”, किसान हरि चौधरी भन्नुहुन्छ, “बीमामा सबै किसानलाई आवद्ध गर्ने प्रयास गर्नुपर्छ । जोखिम क्षेत्रमा विपन्न नागरिकको बढी बसोबास भएकाले स्थानीय सरकारले प्रिमियम भरिदिनेजस्ता कार्यमा सघाउन आवश्यक छ ।”
बाढी बीमाले किसानलाई केही राहत भए पनि सङ्कटासन्न समुदायको उत्थानशीलता बढाउन र जलवायुजन्य प्रकोपबाट हुने क्षति, नोक्सानी कम गर्न उपलब्ध प्रविधि, क्षमता विकास र ज्ञान उपयोग गरी उनीहरूलाई सक्षम बनाउनतर्फ ध्यान दिनुपर्ने स्थानीयको माग छ ।
















अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
टिजर सार्वजनिक गर्दै सामसङले दियो नयाँ एआई ड्रिभन स्मार्टफोन ल्याउने संकेत
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
प्रतिक्रिया