दुर्गम बस्तीमा फोरजीमार्फत इन्टरनेटको पहुँच

फुङ्लिङ (ताप्लेजुङ) । पछिल्लो समयमा ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँज पुग्न थालेको छ ।
गाउँगाउँमा नयाँ फोरजी टावर जडान गर्नुका साथै पुराना टावरलाई फोरजीमा स्तरोन्नति गरिएपछि ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँच विस्तार भएको हो ।
केही समय अगाडि मोबाइल सेवासमेत नभएका बस्तीमा फोरजी सेवा सञ्चालन भएपछि स्थानीय उत्साहित भएका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मुरिङला डाँडामा बिहीबारदेखि फोरजी सेवा सुरु भएसँगै आफ्नै घरबाट इन्टरनेट प्रयोग गर्न पाएको स्थानीय रोशन लिम्बूले बताए ।
गत भदौको पहिलो साता फक्ताङलुङको लोवा डाँडामा नेपाल टेलिकमले फोरजी टावरमार्फत सेवा सुरु गरेको थियो । उक्त टावरले फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चार क्षेत्रमा फड्को मारेको छ ।
फोरजी सेवा सञ्चालनमा आएसँगै लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोङ्मा, अम्जीलेसा र तापेथोकको हेल्लोक, यासाङ, सोत्लिमा, तापेथोक र इखाबुको केही क्षेत्रमा इन्टरनेटको सुविधा पुगेको दूरसञ्चार कार्यालय ताप्लेजुङले जनाएको छ ।
फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बूका अनुसार यस सेवामार्फत फक्ताङलुङ गाउँपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । यसबाट स्थानीय समुदाय मात्रै नभएर कञ्च्नजङ्घा क्षेत्रमा आउने हजारौँ पर्यटकलाई पनि सेवा पुग्ने र विभिन्न सरकारी तथा गैरसरकारी निकायले दिने सेवामा पनि सहजता थपिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले जानकारी दिए ।
विसं २०७४ मा पालिकाको लेलेपस्थित मुरिङ्ला डाँडामा टेलिकमको टुजी सेवा विस्तार भएपछि मात्रै यस क्षेत्रमा मोबाइल सेवा विस्तार भएको थियो । टुजी सेवा प्रभावकारी नभएको गुनासो बारम्बार आएपछि फोरजी सेवा विस्तार गरिएको टेलिकम कार्यालयले जनाएको छ ।
गाउँपालिकाको तल्लो भेग वडा नं १, २, ३, ४, सावादिन, खेजेनिम, लिङ्खिम र इखाबुका अधिकांश भेगमा यसअघि नै फोरजी सेवा विस्तार भइसकेको अध्यक्ष लिम्बूले बताए । सेवा विस्तारका लागि आवश्यक सामग्री ढुवानीदेखि यसको जडानका लागि सम्बन्धित निकायमा पहलकदमी पालिकाले गरेको उनको भनाइ थियो ।
अध्यक्ष लिम्बूका अनुसार अब सोही पालिकाको वडा नं ७ को हिलेखर्कमा फोरजी टावर राख्नका लागि सर्भेको काम सकिएको छ भने घुन्सातर्फ पनि टावर राख्नका लागि पहिलो चरणको सर्वे सकिएको छ । फक्ताङलुङ गाउँपालिकाको सबै क्षेत्रमा अबको एक वर्षभित्रमा फोरजी सेवा विस्तार हुने उनले बताए ।
आजको आधुनिक समयमा पनि इन्टरनेटबाट टाढा हुँदा खबर आदानप्रदानमा समस्या हुने गरेको स्थानीय मिङ्मा शेर्पाले बताए । सेवा विस्तार भएपछि विदेशमा रहेका आफन्त तथा छोराछोरीसँग कुराकानी गर्न र खबर आदानप्रदान गर्न सहज भएको उनको भनाइ थियो ।
बुधबारदेखि ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा पनि फोरजी सेवा विस्तार भएको छ । योसँगै गाउँगाउँसम्म इन्टरनेट सेवा विस्तार हुँदा सञ्चारसँगको पहुँच विस्तार हुँदै गएको स्थानीयहरु बताउँछन् ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया