आयश्रोतको माध्यम बन्दै पुष्पखेती

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरमा पुष्पखेतीमा किसानको आकर्षण बढेको छ । स्वदेशमै थोरै लगानीमा गतिलो आम्दानी हुन थालेपछि पुष्पखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको हो ।
प्लाष्टिक मालाको प्रयोग प्रतिबन्ध गर्नुका साथै विदेशबाट फूल आयातमा रोक लगाएपछि स्थानीयस्तरमै किसान फूलखेती गर्न थालेको भीमदत्त नगरपालिका–३ का किसान जनकबहादुर सिंहले जानकारी दिए । “पुष्पखेती गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । यसबाट मुनाफा पनि राम्रै हुन्छ”, उनले भने, “थोरै लगानीमा स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ ।”
सिंह कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्राविधिक सहायक पदमा कार्यरत हुनुहुन्छ । उनले भीमदत्त नगरपालिका–३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर सात कट्ठा क्षेत्रफलमा फूलखेती गरेका छन् । दुई वर्षयता व्यावसायिक पुष्पखेती गरिरहेका उनले यसअघि भीमदत्तकै तिलकपुरमा फूलखेती गरेका थिए । यस वर्ष दसैँतिहारमा विगतभन्दा फूल कम बिक्री भएको उनको भनाइ छ ।
“यस वर्ष फूल बिक्री गर्न निकै गाह्रो भयो, गत वर्ष माग पूर्ति गर्नै सकिएको थिएन”, उनले भने, “तिहारको समय ढिलो भएकाले स्थानीय फूल छ्यापछ्याप्ती भए, त्यसैले सोचेअनुसार फूल बिक्री नभएको हो ।” उनका अनुसार चाडबाडको समयमा यस वर्ष महेन्द्रनगर क्षेत्रमा एक क्विन्टल फूल र रु तीन सयसम्ममा उनेका फूलका माला बिक्री भएका छन् ।
फूलको मूल्य रु पाँच सय प्रतिकिलोग्राम र मालाको रु एक सय दर तोकिएको थियो । फूल बिक्री गर्न हम्मेहम्मे परेपछि किसानले यसपटक सस्तोमै बिक्री गर्नुपरेको उनको भनाइ छ । कञ्चनपुरको दोधारा चाँदनी, कृष्णपुर र बेलौरीमा तुलनात्मकरूपमा अन्य ठाउँभन्दा बढी क्षेत्रफलमा पुष्पखेती गरिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार झण्डै दुई सय जनाले चार हेक्टर क्षेत्रफलमा फूलखेती गरेका छन् ।
“एक कठ्ठादेखि सात कट्ठा क्षेत्रफलसम्म फूलखेती गरिएको छ । विदेशी फूल ल्याउन नदिने प्रावधानपछि यहाँका किसानलाई फूलखेतीको चेतना जागेको छ”, उनले भने, “यसपटक तिहारमा बाहिरबाट फूल ल्याउन परेन, स्थानीयस्तरकै फूलले माग पूर्ति भएको छ ।”
सयपत्री, मखमली र कटफलावर प्रजातिका फूलको खेती बढी हुने गरेको उनले बताए । पुष्प व्यवसायमा किसानको आकर्षण बढ्दै गएपछि दसैँ तिहार, विवाह, व्रतबन्ध, सभा–समारोहमा प्रयोग हुने फूलमाला बाहिरबाट आयात गर्नुपर्ने बाध्यता हटेको छ ।
















स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया