शनिबार, चैत २८, २०८२

हिमाली क्षेत्रमा मूल्यवृद्धिको चाप : चार महिनामा ८.७९ प्रतिशत

मेरोन्यूज २०८० मंसिर २८ गते १५:१३

काठमाडौँ । हिमाली क्षेत्रमा मूल्यवृद्धिको चाप परेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार उपभोक्ता मुद्रास्फीति हिमाली क्षेत्रमा आठ दशमलव ७९ प्रतिशत बराबर पुगेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

केन्द्रीय बैंकका अनुसार कात्तिक महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति छ प्रतिशत बराबर छ । यस्तै तराईमा चार दशमलव ४२ प्रतिशत, पहाडमा छ दशमलव शून्य सात प्रतिशत र हिमालमा आठ दशमलव ७९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रमा यस्तो मुद्रास्फीति क्रमशः सात दशमलव ५६ प्रतिशत, आठ दशमलव ५२ प्रतिशत, आठ दशमदव शून्य तीन प्रतिशत र छ दशमलव ६८ प्रतिशत रहेको थियो ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२ दशमलव ८४ प्रतिशत, विविध वस्तु तथा सेवाको १० दशमलव ७६ प्रतिशत, शिक्षाको आठ दशमलव ९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको पाँच दशमलव २७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको चार दशमलव ९६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक ८६ प्रतिशतले घटेको छ ।

कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ३८ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति आठ दशमलव शून्य आठ प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव शून्य एक प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति चार दशमलव ८९ प्रतिशत छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३६ दशमलव ४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४ दशमलव ५९ प्रतिशत, फलपूmलको १४ दशमलव शून्य एक प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव शून्य दुई प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा घ्यू तथा तेल र तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क क्रमशः १४ दशमलव २३ प्रतिशत र पाँच दशमलब ३५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया