आइतबार, जेठ ४, २०८२

नेम्बाङलाई उपचारका लागि काठमाडौँ लगिँदै

मेरोन्यूज २०८० माघ १७ गते १५:५३

फुङलिङ (ताप्लेजुङ) । प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौँ लगिँदै छ ।

नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ आएका उनी अचानक बिरामी परेका हुन् ।

सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौँ लैजाने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए । जिल्ला अस्पतालले उहाँलाई उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको अध्यक्ष थेबेले बताए ।

पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्जसमेत हुन् । उनी आज बिहान फिदिमबाट ताप्लेजुङ पुगेका हुन्। खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो । तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो ।

जिल्ला अधिवेशनलगायत विषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक डाकिएको थियो । सोही बैठकका लागि सांसद नेम्बाङ फुङलिङ आएको अध्यक्ष थेबेले बताए ।

प्रतिक्रिया