शनिबार, फागुन ९, २०८२

राजतन्त्रका कुरा गर्नेले जनतालाई भ्रममा पारे :योगेशकुमार भट्टराई

मेरोन्यूज २०८० माघ २१ गते १९:०९

ताप्लेजुङ । नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले पछिल्लो समय केही शक्ति वर्तमान राज्य व्यवस्थाविरुद्ध खुलेर लाग्न थालेको बताएका छन् । उनले इतिहासमा सीमित भएको राजतन्त्र फर्काउने कुराले जनतामा भ्रम सृजना भइरहेको र यो वर्तमान व्यवस्थाविरुद्ध भएको बताए।

Advertisement
nepal life insurencenepal life insurence

प्रेस चौतरी नेपालले आफ्नो स्थापना दिवसका अवसरमा आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राज्य व्यवस्था जनआन्दोलनको बलमा स्थापित भएकाले पुनरुत्थान गर्ने विचार दिवास्वप्नबाहेक केही नभएको र यसले कुनै नतिजा नदिने बताए । उनले कुनै पनि विकासक्रम वा राज्य व्यवस्था पछाडि फर्किन नसक्ने उल्लेख गर्दै इतिहासमा सीमित भइसकेको राजतन्त्रको वर्तमान र भविष्य नभएको स्पष्ट पारे ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता भट्टराईले राजतन्त्रको इतिहासलाई हेर्दा नेपालको एकीकरणमा राजा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिकाबाहेक राजतन्त्रको अरू कुनै सान्दर्भिकता नरहेको टिप्पणीसमेत गरे । यसैबीच प्रेस चौतारी नेपालले आफ्नो संस्थाको स्थापना दिवसका अवसरमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका तीन पत्रकारलाई पुरस्कारसहित सम्मान गरेको छ ।

पुरस्कृत एवं सम्मानित हुनेमा नेपाल पत्रकार महासङ्घका पूर्वजिल्ला अध्यक्ष केशव भट्टराई, पूर्वसचिव रविन भट्टराई र वर्तमान उपाध्यक्ष गङ्गा लिङ्खीम रहेका छन् । तीनै पत्रकारलाई रु १० हजार एक सय पाँचसहित सम्मानपत्र वितरण गरिएको प्रेस चौतारीका जिल्ला अध्यक्ष वसन्त पालुङ्वाले जानकारी दिए ।

प्रेस चौतारी नेपालले हरेक वर्ष स्थापना दिवसका अवसरमा तीनजना पत्रकारलाई छनौट गरी प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार, जयमती कर्णबहादुर पत्रकारिता पुरस्कार र अग्निप्रसाद भीमादेवी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया