मंगलबार, माघ १३, २०८२

नागरिक उन्मुक्ति पार्टीको बैठक स्थगित

मेरोन्यूज २०८० फागुन २८ गते १४:४२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठ उपस्थित नहुने भएपछि पार्टीको बैठक स्थगित भएको हो।

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताको विषयमा असन्तुष्ट श्रेष्ठले आज दिउँसो १ बजे कैलालीको टीकापुरमा केन्द्रीय कार्यसमिति बैठक बोलाएकी थिइन् । तर अचानक उनको स्वास्थ्यमा समस्यामा आएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पार्टीका संस्थापक रेशम चौधरीको जोडबलमा शुक्रबार नाउपाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाएको थियो ।

यता नाउपा अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता लिन संसदीय दललाई निर्देशन दिएकी थिइन्। तर सांसदले रञ्जिताको निर्देशन पालना गरेका छैनन्।

साेही कारण पार्टीभित्रको विवाद, सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, समसामयिक राजनीतिक घटनाक्रम र निर्वाचन आयोगको निर्णयलगायत विषयमा छलफल गर्न अध्यक्ष श्रेष्ठले बैठक बाेलाएकी थिइन् ।

प्रतिक्रिया