बिहीबार, वैशाख ३, २०८३

एमालेलाई सुदृढ बनाउनुको विकल्प छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

मेरोन्यूज २०८० फागुन २८ गते २१:१३

बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई सुदृढ बनाउनुको विकल्प नरहेको बताए । बैतडीको पाटनमा आज एमाले बैतडीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीलाई सुदृढ बनाएर राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्ने उल्लेख गरे।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “एमालेलाई सुदृढ बनाउनुपर्छ, पार्टीलाई एकताबद्ध भएर लैजानुपर्छ । एमाले जनताको बलमा बाँचेको पार्टी भएकाले राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्छ । यही राष्ट्रिय शक्तिले भोलि राष्ट्रको नेतृत्व गर्नुपर्छ । जनताको स्वार्थसित सम्बन्धित रहेर पार्टी अगाडि बढ्नुपर्छ । पार्टी जनआधारित हुनुपर्छ, जनप्रिय पार्टी बनाउनुपर्छ ।”

जनताको विश्वासको मत प्राप्त गर्न एमाले ‘मिसन–८४’ मा अघि बढेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालले बहुमत ल्याए मात्रै देशमा समृद्धि आउने बताए । “एमालेले बहुमत ल्याएर सुशासन ल्याउनुपर्छ । मिसन–८४ मा अहिलेदेखि लागौँ । नयाँ गठबन्धनले मिसन–८४ लाई सहयोग पुग्छ”, उनले भने ।

देशमा विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अघिल्लो गठबन्धन एमालेलाई सिध्याउने हिसाबले हिँडेकाले असफल भएको बताए । उनले भने, “अघिल्लो गठबन्धनको सरकारले देशमा सुशासन दिन सकेन, भ्रष्टाचार बढ्यो, युवा पलायन भए, अर्थतन्त्र धराशायी भयो ।” नयाँ गठबन्धनमाथि जनताको ठूलो भरोसा रहेकाले कृषिको आधुनिकीकरण तथा व्यावसायिकताका साथै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । युवालाई हरेक तहको नेतृत्वमा ल्याउनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया