सोमबार, चैत ३०, २०८२

एमालेलाई नटेर्नेहरु समाप्त हुन्छन् : ओली

मेरोन्यूज २०८० चैत १ गते १८:०८

कञ्चनपुर। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने ठोकुवा गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ मा आज आयोजित भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गरेका हुन्।

उनले कांग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने प्रष्ट पारे। ‘एमाले एउटा यस्तो शक्ति हो, जसलाई पुरै आँखा चिम्लेर नकार्छु, टेर्दिनँ भन्नेहरू सिद्धिन्छन,’ अध्यक्ष ओलीले भने। एमालेलाई हेप्नेहरूले गम्भीर धोका खानेसमेत ओलीले बताए।

कांग्रेसले आफूसँग दुई तिहाई छ जस्तो गरेकाले सरकारबाटै हट्नु परेको अध्यक्ष ओलीले प्रष्ट पारे। ‘कांग्रेसले आफूसँग दुई तिहाई छजस्तो गरेकाले सरकारबाटै हट्नु परेको हो। उस्ले एमाले जस्तो पार्टीलाई टेरेन। आज परिणाम भोग्यो,’ अध्यक्ष ओलीको भनाई थियो।

अध्यक्ष ओलीले मुलुक र जनताको सवालमा सवै दल एक ठाउँमा उभिनुपर्ने आजको आवश्इकता पनि औंल्याए। ‘हामी लोकतान्त्रिक प्रणालीमा छौं। बहुदलीय व्यवस्थामा छौं। दलहरू फरक–फरक हुन्छन्। विचार फरक–फरक होला। तर, संविधानको रक्षा, देशको एकता, मुलुकको सार्वभौम सत्ता र भूमिको रक्षाका लागि सरकार अगाडि बढ्नुपर्छ, यस्तो काम गर्ने सरकारलाई जनताले साथ दिनुपर्छ,’ अध्यक्ष ओलीले भने।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामिलामा सबै दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औंल्याए। ‘सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टहरूलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ,’ ओलीको भनाई थियो।

दोधारा चाँदनी वडा नम्बर ६ का वडाअध्यक्ष ओमकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष ओलीले वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटनसमेत गरे। सो क्रममा अध्यक्ष ओलीले प्रसंसनीय काम गरेको भन्दै वडाध्यक्ष बस्नेतलाई र नगरपालिकाका प्रमुखलाई धन्यवादसमेत दिएका छन्।

प्रतिक्रिया