आइतबार, चैत १, २०८२

उखु, अमिलो र तोरी पेल्ने परम्परागत ‘कोल’ लोप हुँदै

मेरोन्यूज २०८० चैत २ गते १४:५०

गलेश्वर (म्याग्दी) । म्याग्दीका ग्रामीण भेगबाट उखु, अमिलो र तोरी पेल्ने परम्परागत ‘कोल लोप’ हुँदै गएका छन् । प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप हुँदै गएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

ग्रामीण क्षेत्रमा सडकको विस्तारसँगै यातायात, प्रविधि र सञ्चारको विस्तार हुँदै गएपछि नागरिक सुविधाभोगी हुनाका साथै परम्परागत प्रविधिको संरक्षणमा ध्यान नदिँदा यस्ता रैथाने प्रविधि लोप हुँदै गएका हुन् । विकाससँगै ग्रामीण क्षेत्रमा पनि यातायातको पहुँच बढ्दै जाँदा तेल पेल्न मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल लोप हुन थालेका पाको पुस्ताका ज्येष्ठ नागरिकको भनाइ छ ।

बजारमा पाइने विभिन्न किसिमका ‘प्याकिङ’ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका मालिका गाउँपालिका–६ का ७४ वर्षीय टीकाजित पुनले बताए ।

एकताका तेल र घीउमा आत्मनिर्भर मानिने म्याग्दीको पश्चिमी क्षेत्रमा अहिले तेलहन बालीको खेती गर्ने प्रचलनमा पनि कमी हुँदै गएको छ । “पहिला जिल्लामा प्रशस्त मात्रामा उखु, तोरी र अमिलोखेती गरिन्थ्यो, जङ्गलमा प्रशस्तै चिउरी फल्थ्यो, चिउरी पेलेर पनि तेल निकालिन्थ्यो”, पुनले भने, “अहिले त मान्छेले तेलबाली पनि लगाउन छाडे, कोल हराइनै सके ।”

उनका अनुसार हिउँदयामका दिन फुर्सदिला हुने भएकाले कोलमा प्रत्येक परिवारले उखु र तेल पेल्ने चलन थियो । आजभोलि कोल पनि हराइसकेको उहाँ बताउँछन् । “अलिअलि बेचेका कोल पनि प्रयोगविहीन छन्”, मङ्गला गाउँपालिका–२ का ७९ वर्षीय भीमबहादुर सेनले बताए ।

जलवायु परिवर्तनसँगै उब्जनी कम तथा बजारमा सजिलै किन्न मिल्ने गरेकाले उखु र अमिलो पेल्ने कोल हराउँदै गएका उहाँको बुझाइ छ । उहाँका अनुसार कोल प्रायः सामुदायिक हुन्थे । गाउँभरिको एउटै कोल हुने भएकाले हरेक परिवारले हिउँदयाममा पालैपालो तेल पेल्ने र कोलका खाँबा फेर्नु परेमा समुदायका सबै मानिस मिलेर ल्याउने गरिएको थियो । विगतमा जिल्लाभरि सयौँको सङ्ख्यामा रहेका यस्ता कोल अहिले अधिकांश लोप भइसकेका उनी बताउँछन्।

दुर्गम गाउँमा रहेका एक÷दुई कोल पनि विस्तारै प्रयोगविहीन छन् । कोल लोप भएसँगै जिल्लामा तेलहन बालीको खेती लगाउनेको सङ्ख्या पनि घट्दै गएको छ । कोलमा तेल पेल्नका लागि बढी जनशक्तिसँगै शारीरिक श्रम बढी लाग्ने र बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत हराउँदै गएको र कोललाई नै प्रवद्र्धन गर्न वा तेल पेल्न आधुनिक प्रविधिमा आधारित उद्योग खोलिएकाले कोल लोप हँुदै गएका ज्येष्ठ नागरिकको भनाइ छ ।

धान कुट्ने ढिकी, ओखल, मकै पिस्ने जाँतो पनि यहाँबाट लोप हँुदै गएका बेनी नगरपालिका–४ का भक्तिराम पौडेलले बताए । “ढिकी, जाँतोको ठाउँमा आधुनिक मेसिन गाउँगाउँमा भित्रन थालेपछि स्थानीय सामग्री लोप भएका हुन्”, उनले भने, “पानीबाट चल्ने पानीघट्ट पनि विस्थापित भइसकेका छन् ।”

कोल मात्र होइन, कुटानी–पिसानीका अन्य घरेलु मेसिन समेत बिस्तारै लोप भएका छन् । ढिक्की, जाँतो, ओखल, सिलौटासमेत बिस्तारै लोप हुँदै गएको यहाँका स्थानीय बासिन्दाको भनाइ छ । ब्याट्री र विद्युत्बाट सञ्चालन हुने आधुनिक मेसिन भित्रिएपछि परम्परागत घरेलु मेसिन लोप हुँदै गएको स्थानीय डेकबहादुर सिउथानीले बताए।

जनजाति समुदायले प्रयोग गर्दै आएका घरेलु मेसिनलाई परिमार्जन गर्न नसक्दा लोप हुँदै गएको उनको भनाइ छ । पुर्खाले प्रयोग गर्दै आएका घरेलु मेसिन लोप हुँदा आधुनिक मेसिनको आयात बढेको सिउथानीले बताए । केही वर्षपछि नेपालीले प्रयोग गर्ने घरेलु मेसिन पूर्णरुपमा लोप हुने र पूरै आयातीत मेसिनबाट गाउँ भरिने पुराना पुस्ताको चिन्ता छ ।

प्रतिक्रिया