आइतबार, चैत १, २०८२

सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

मेरोन्यूज २०८० चैत ३ गते ११:५८

राँझा । नहरबाट सिँचाइ सुविधा हुन नसक्ने क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ कचनापुर, वडा नं ८ को बालापुर र वडा नं ९ को ढकेरीक्षेत्रमा परीक्षण परियोजनाको रुपमा विद्युत्बाट सञ्चालन हुने लिफ्टिङ सिँचाइको योजना सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर सन्देश पौडेलले जानकारी दिए । 

Advertisement
nepal life insurencenepal life insurence

“सिक्टा सिँचाइ आयोजनाको नहरबाट सिँचाइ हुन नसकेका क्षेत्रमा किसानलाई लिफ्टिङ प्रविधिबाट नहरको पानी तानेर सिँचाइको सुविधा पु¥याउने काम सुरु भएको छ”, इञ्जिनियर पौडेलले भने, “लिफ्टिङ सिँचाइका लागि ढकेरी र बालापुरमा ठेक्का सम्झौता भई काम सुरु हुने चरणमा छ, कचनापुरको पूर्वी र पश्चिमी भागमा ठेक्का हुने क्रममा रहेको छ ।”

लिफ्टिङ सिँचाइ योजनाको कार्य गर्न सौर्य तथा विद्युत उर्जाबाट सिँचाइ प्रणाली जडानमा सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्षमा रु चार करोड विनियोजन भएको छ । उक्त बजेटबाट लिफ्टिङ सिँचाइ योजनाको काम सुरु भएको आयोजनाका सूचना अधिकारी पौडेलले बताए ।

आफ्नै खेतबारीबाट सिक्टाको पश्चिमी मूल नहर सञ्चालन भए पनि राप्ती सोनारीको वडा नं २, ८ र ९ का खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । नहरको सतह गहिराई भएका कारण जमिनमा सिँचाइ हुन नसकेको राप्ती सोनारी–९ का वडाध्यक्ष सोहनलाल थारुले बताए ।

“सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना ल्याएपछि किसानमा खुसियाली छाएको छ”, वडाध्यक्ष थारुले भने, “अब नहरमा बगेको पानी टुलुटुलु हेर्नुपर्ने अवस्थाको अब अन्त्य हुनेछ, किसानको खेतबारीमा सिक्टाको पानीले सिँचाइ हुने आशा जागेको छ ।” 

राप्ती सोनारीको ढकेरी क्षेत्रमा १० थान लिफ्टिङ सिँचाइको योजना माग गरेकामा नमूनाको रुपमा एउटा योजना सञ्चालन हुन लागेको वडाध्यक्ष थारुले बताए । योजना कार्यान्वयनका लागि राप्ती सोनारी–९ मा ढकेरी लिफ्ट जल उपभोक्ता संस्था स्थापना भएको छ । लिफ्टिङ सिँचाइको योजना सञ्चालन हुने भएपछि स्थानीयवासीसमेत उत्साहका साथ लागि परेको ढकेरी लिफ्ट जल उपभोक्ता संस्थाका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।

किसानलाई सहजरुपमा सिँचाइको सुविधा पुर्याउन विभिन्न योजना सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक देवराज निरौलाले बताए । चालु आवमा लिफ्टिङ सिँचाइसँगै पूर्वी मूल नहरको बाँकी कार्य गर्ने ठेक्का व्यवस्थापनको तयारी, पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरुवा र गोहवा शाखा नहरको निर्माण कार्यको काम गरिने निर्देशक निरौलाले जानकारी दिए । 

प्रतिक्रिया