आइतबार, फागुन ३, २०८२

‘बस एक्कासि बजारियो, उठेर चिच्याउँदै काखको छोरी खोज्न थालेँ’

मेरोन्यूज २०८० चैत ६ गते १५:४६

कास्की । पश्चिमको मुसिकोट नगरपालिका–३ की २८ वर्षीया सरिता ढकाल खड्का पोखराको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेकिछिन्। रुकुमबाट काठमाडौँका लागि छुटेको खड्का चढेको यात्रुवाहक बस सोमबार साँझ बाग्लुङको निसीखोला–६ मा दुर्घटना भएको थियो । सरिताको ढाड र टाउकामा चोट लागेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सरिता तीन महिनाको छोरी ज्ञानु, ससुरा ६२ वर्षीय हर्कबहादुर केसी र सासू ५५ वर्षीया लिलासहित काठमाडौँ जाँदै थिए। घरबाट खाना खाएर सोमबार बिहान ९ः३० बजेतिर चारै जना बसमा चढे । मङ्सिरमा शिक्षक पेसाबाट सेवानिवृत्त सरिताका ससुरा हर्कबहादुरको काठमाडौँमा पेन्सन पट्टाको काम मिलाउनु थियो ।

सासूले भनेपछि सरिता पनि छोरी लिएर जान तयार भइन्। सरितालाई पेटको समस्या भएकाले यही मेसोमा राजधानीमा राम्रो उपचार गर्ने योजना थियो । बस मध्यपहाडी राजमार्गमा आफ्नै गतिमा हिँडिरहेको थियो । साँझ पर्दै थियो । रुकुम र बाग्लुङको सीमा पातीहाल्नेमा खाजा खान बस रोक्ने यात्रुहरुको अनुमान विपरीत बस नरोकिईकन अघि बढ्यो ।

यात्रुहरु आफ्नै तालमा कोही निदाइरहेका थिए भने कोही मोबाइल हेरिरहेका थिए । सरिता पनि छोरीलाई काखमा सुताएर निदाइरहेकिथिइन् । निसीखोलाको जाउलेपानीमा आइपुगेपछि बसका केही यात्रु गाडी गयो, गयो भनेर एक्कासि चिच्याउन थाले। सरिता पनि झल्यास्स भइन् र काखको छोरीलाई च्याप्प समाइन् । बस एक बल्डङ खाएको सरितालाई याद छ ।

उनी त्यही अड्किइन्। मणिपाल अस्पतालको आकस्मिक कक्षबाट खड्काले भनीन्, “एक्कासि बस गयो गयो भनेर सबै चिच्याए, मलाई बोल्न आएन, छोरीलाई च्याप्प समाएँ, बस एक्कासि बजारियो, त्यही बेला म बीचमा अड्किएको रहेछु, होसमा आउँदा छोरी काखमा थिइन, बस तल थियो, उठेर छोरी/भनेर चिच्चाएँ ।” काखमा छोरी नदेखेपछि सरिता चिच्याइन् ।

भान्जाले माथि छन् भनेपछि सरिता सकी नसकी उठेर छोरी भएको ठाउँमा पुगीन् । छोरी रोइरहेकी थिइन् । भाञ्जाको सहयोगले माथि सडकमा निस्किइन् । बुर्तिबाङमा सामान्य उपचारपछि बाग्लुङ जिल्ला अस्पताल पठाएकामा अहिले सरिता, छोरी, सासू\ससुरासहित पाँच जनाको मणिपालमा उपचार भइरहेको छ ।

दुर्घटना कसरी भयो भन्ने उनलाई केही जानकारी छैन । बस एक्कासि सडकबाट तल खसेको मात्र थाहा छ । पछि घाइतेहरुले बस तीव्र गतिमा भएको बताएको सरिताले बताइन् । अहिले सरितालाई काठमाडौँ जान नहिँडेको भए हुने रहेछ भन्ने लागिरहेको छ ।

“किन काठमाडौँ जान लागेँ हुँलाजस्तो भइरहेको छ”, उनले भनीन्, “ठूलो भाग्यले बाँचियो, जिन्दगीमा यस्तो पनि भोग्नुपर्ने रहेछ ।” दुर्घटनामा परेका सरिता र छोरीको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

उनका ससुरा हर्कबहादुर, सासू लिला र सिन्धुपाल्चोकका देवेन्द्र रिजालको अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सक डा नवराज बस्ताकोटीले जानकारी दिए ।

उनका अनुसार मणिपालमा पाँचजनाको उपचार भइरहेकामा गम्भीर घाइतेको मेरुदण्ड र कम्मरको हड्डी भाँचिएको छ । बाग्लुङको निसीखोला बस दुर्घटनामा नौजनाको मृत्यु भएको छभने घटनामा २८ जना घाइते छन् । घाइतेहरुको पोखरासहित बाग्लुङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया