शनिबार, चैत २८, २०८२

उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीन भ्रमणलाई फलदायी बनाउन उच्च पदस्थ अधिकारीसँग छलफल

मेरोन्यूज २०८० चैत १० गते १५:५१

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आसन्न जनवादी गणतन्त्र चीन भ्रमणलाई फलदायी बनाउन आज विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको सो छलफलमा उनले मित्रराष्ट्र चीनसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाका बारेमा जानकारी लिए ।

Advertisement
nepal life insurencenepal life insurence

सहभागीले ऊर्जा, व्यापार, पर्यटन, सम्पर्क सञ्जाल, कृषि, प्रविधि हस्तान्तरण, सीमा व्यवस्थापनलगायत विषयमा चिनियाँ पक्षसँग छलफल गर्न सुझाव दिएका थिए। उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही चैत ११ गते जनवादी गणतन्त्र चीनको भ्रमणमा जाँदै छन् ।

चीनमा रहँदा उहाँले त्यहाँका विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्चस्तरका विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो भ्रमणमा दुई देशबीचका सम्बन्धलाई सुदृढ गर्ने तथा द्विपक्षीय पारस्परिक सहायता अभिवृद्धिका बारेमा केन्द्रित हुने बताए । “अहिलेको मेरो चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुद र पारस्परिक सहयोगात्मक सम्बन्धलाई पनि राम्रो बनाउने छ”, उनले भने, “अहिलेसम्म भएका सम्झौताको कार्यान्वयन प्रक्रियाका बारेमा चिनियाँ पक्षसँग छलफल हुनेछ ।”

छलफलमा राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, अर्थ मन्त्रालयका सचिव (राजस्व) डा रामप्रसाद घिमिरे, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, ऊर्जा सचिव गोपालप्रसाद सिग्देल, सिँचाइ सचिव सुशीलचन्द्र तिवारीलगायत सहभागी थिए ।

प्रतिक्रिया