विश्व क्षयरोग दिवस : उपचारको दायरामा आउने न्यून

काठमाडौँ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस मनाइँदैछ । राष्ट्रिय क्षयरोग केन्द्रकाअनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन् ।
नयाँ थप बिरामीमध्ये करिब आधा मात्र उपचारका दायरामा आएका केन्द्रले जनाएको छ । तथ्याङ्क हेर्ने हो भने नयाँ बिरामीमध्ये ३७ हजार चार सय ४७ जना मात्र उपचारमा दायरामा आएका देखिन्छन् । साथै क्षयरोगका कारण बर्सेनी १८ हजारको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ ।
क्षयरोग ‘माइको ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग भएका बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले भने, “क्षयरोगको जोखिममा १५ देखि ४४ वर्ष उमेर समूहका मानिस छन् । पछिल्लो वर्षमा ६५ वर्षभन्दामाथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ ।” हाल मुलुकभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोगविरुद्धको औषधि निःशुल्क उपलब्ध हुने गरेको उनले जानकारी दिए ।
क्षयरोगको जोखिममा कुपोषण भएका, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस रहेका डा श्रेष्ठले जानकारी दिए ।
केन्द्रका निर्देशक डा श्रेष्ठले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत हाल एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिँदै क्रमशः सात सय ५३ वटै स्थानीय तहमा लागू गरिने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै क्षयरोगविरुद्ध प्रभावकारी रुपमा लड्न नवीन रणनीति लागू गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपालमा यो रोग प्रमुख जनस्वास्थ्य समस्याको रुपमा अझै पनि रहिरहनु चिन्ताजनक विषय भएको बताए । उनले क्षयरोग निवारण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शुभकामना व्यक्त गर्दै स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा सङ्गीता कौशल मिश्राले क्षयरोग रोकथाम, निदान र उपचारको खाँचो रहेका सबैलाई उपचारको दायरामा आउन आग्रह गरिन् । विशेष गरी जोखिम समूह, सीमान्तकृत जनसङ्ख्या तथा दुर्गम क्षेत्रसम्म यसको उपचार पुग्न आवश्यकता रहेको उनको भनाइ छ । सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य लिइएको छ ।
















टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया