बिहीबार, चैत २६, २०८२

आकस्मिक समय : सडक दुर्घटना न्यूनीकरण र किसानका समस्याबारे ध्यानाकर्षण

मेरोन्यूज २०८० चैत १८ गते १२:३०

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले सडक दुर्घटना बढिरहेको र किसान विभिन्न समस्यामा परेकालगायत समसामयिक विषय उठाएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

आकस्मिक समयमा सांसद हितराज पाण्डेले शनिबार बिहान पृथ्वी राजमार्गको मुग्लिन नजिकै भएको सवारीसाधन दुर्घटनाको विषय उठाउँदै उक्त दुर्घटनामा बेपत्ता एक जनाको खोजी कार्य तीव्र पार्न सरकारसँग माग गरे। पछिल्लो समय सडक दुर्घटना बढिरहेकाबारे पनि संसद्मार्फत् उनले सरकारको ध्यानाकर्षण गराए ।

सांसद एकनाथ ढकालले सडक दुर्घटना बढेको विषयमा संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराए । सांसद ध्रुवबहादुर प्रधानले नागरिकलाई सेवा प्रवाहमा भएको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । हिउँदेबाली भित्र्याउने बेलामा हावाहुरी र असिना पानीले बालीनालीमा पुगेको क्षति विश्लेषण गरी किसानलाई राहत उपलब्ध गराउन उनले माग गरे ।

सांसद अशोककुमार चौधरीले तराईका जिल्लामा वर्णशङ्कर जातको बीउका कारण मकैमा दाना नलागेको विषय उठाए । त्यस्तो बीउ बेच्ने डिलरलाई कारबाही गर्न र कृषकलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न उनले माग गरे । जलवायु परिवर्तनको असरले कृषिबालीमा पारेको असर र वन्यजन्तु आक्रमण न्यूनीककरणका लागि आवश्यक कदम चाल्नुपर्नेमा सांसद चौधरीले जोड दिए ।

सांसद डा अमरेशकुमार सिंहले न्यायपालिकाको न्यायसम्पादनमा प्रश्न उठेको बताए । न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुने गरेको र न्यायाधीशले न्यायसम्पादन गर्दा विभेदपूर्ण तरिकाले निर्णय गर्ने गरेको उनले आरोप लगाए ।

न्यायपालिकाबाट भइरहेका निर्णयको छानबिन गर्न र न्यायाधीशको आचरण हेर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग सांसद डा सिंहले गरे । उनले न्यायप्रणाली दूषित बन्दै गएकाबारे संसद्मार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराए । न्यायपरिषद्मा परेका उजुरीको छानबिन निकै कम हुने गरेको पनि उनले बताए ।

प्रतिक्रिया