डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गुको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले गर्मीसँगै पानी पनि पर्न सुरु हुने भएकाले डेङ्गुको जोखिम बढ्ने बताए । डेङ्गुको सङ्क्रमणबाट बच्न सचेतना अपनाउनुपर्नेमा उनले जोड दिए ।
“गर्मीसँगै पानी सङ्कलन गरेर राख्ने गरिन्छ । यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ”, डा दाहालले भने । उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालनका लागि स्थानीय तहलाई निर्देशन दिइसकिएको बताए।
“माघयता डेङ्गु देखिएका ३३ स्थानीय तहलाई पत्राचार गरेर लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गर्न निर्देशन दिएका छौँ”, डा दाहालले भने, “अन्य स्थानीय तहलाई पनि डेङ्गुबारे सचेतना जगाउन आग्रह गरेका छौँ ।” उनका अनुसार डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेमा डेङ्गु लाग्दछ ।
डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेलगायत लक्षण देखा पर्ने भन्दै डा दाहालले लक्षण देखा परेमा तत्काल चिकित्सकको सल्लाह लिन आग्रह गरे । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न उनले अनुरोध गरे ।
“सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनुहुँदैन”, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालले भने।
उनका अनुसार सन् २०२३ मा करिब ५१ हजार एक सय ४३ र सन् २०२२ मा ५४ हजार ६ सय ३० जनामा डेङ्गु देखिएको थियो । नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् ।
त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया