पर्यटकीय गन्तव्य बनाउन हिले–जलजले वनमा ताल निर्माण

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–२ स्थित हिले–जलजले सामुदायिक वनमा ‘पर्यटकीय ताल’ निर्माण थालिएको छ ।
उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयद्वारा ताल निर्माण सुरु गरिएको हो ।
काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलस्थित पर्यटकीय क्षेत्र नगरकोट पुग्ने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हिले–जलजले सामुदायिक वनमा धामाधम ताल निर्माण भइरहेको छ । चालु आर्थिक वर्षभित्र निर्माण सक्नेगरी काम भइरहेको उक्त कार्यालयका इन्जिनियर कुश बुढाथोकीले बताए ।
हिले –जलजले सामुदायिक ‘ख’ वनमा शून्य दशमलव ४९ हेक्टर क्षेत्रफलको ताल बन्न लागेको हो । ओखरे र थुम्कीखोला मिसिएर बग्ने स्युरोखोलामा तालको बाँध बाँधिने तयारी छ । आगामी असारभित्र ताल निर्माण सक्नेगरी काम गरिरहेको निर्माण कम्पनीका गणेश मोक्तानले बताए ।
निर्माण कम्पनीले विसं २०७९ मङ्सिर ८ गते दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी रु पाँच करोड ८९ लाख ५१ हजारमा ठेक्का सम्झौता गरेको थियो । तालसहितका अन्य संरचना निर्माण गर्न रु १६ करोड ९४ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ ।
निर्माणाधीन पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ र एक सय ८२ मिटर लम्बाइको हुनेछ । ताल निर्माणका लागि डिभिजन वन कार्यालयले वन क्षेत्रको एक सय २९ रुख कटानको स्वीकृति दिएको थियो । ताल निर्माणका लागि चालु आवमा प्रदेश सरकारले रु एक करोड विनियोजन गरेको छ ।
यसअघि प्रदेशस्थित पर्यटन मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको थियो तालमा डुङ्गा सञ्चालन तथा ताल आसपासका क्षेत्रमा मनोरञ्जन उद्यानका साथै त्यसको सजावट गरिने जनाइएको छ ।
ताल क्षेत्र वरपरका रुखमा ‘ट्री हाउस, ट्री सेन्टर’ निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्याउने संरचना निर्माण गर्न सकिने जनाइएको छ । ताल निर्माणपछि दोस्रो चरणमा होटल तथा पसल सञ्चालनका संरचनालगायत अन्य पूर्वाधार निर्माण गरिने योजना छ ।
सांसद गोकुल बाँस्कोटाका अनुसार बनेपाको वासुकी क्षेत्र र हिले–जलजलेलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ताललगायत संरचना संरचना निर्माण गरिएको हो । हिलेजलजले क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यले ताललगायत पूर्वाधार निर्माणमा जोड दिइएको उनको कथन छ ।
नगरकोटस्थित महादेव पोखरी र हिले–जलजले क्षेत्रमा ‘हलाहल विष पिएर आएका महादेव’ चोबलिएको किंवदन्ती छ । यस्तै वासुकी नाग हिलेजलजले क्षेत्रबाट पनौतीको मकर मेलामा जाने गरेको जनविश्वास छ ।
हरेक वर्ष घुम पूर्णिमा (ज्याःपुन्ही)का दिन पनौतीमा लाग्ने जात्रामा हिले–जलजले क्षेत्रबाट वासुकी नाग जाने क्रममा पानी पर्ने र हुरी चल्ने गरेको छ । नाग जाँदा हुरीबाट लडेको मकैका बोट नाग फर्कँदा पहिलाकै अवस्थामा आउने किंवदन्ती पनि छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया