मंगलबार, फागुन ५, २०८२

हत्यामा संलग्न श्रीमान् र जेठाजु पक्राउ

मेरोन्यूज २०८१ वैशाख १० गते ११:१४

गोदार (धनुषा) । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ६० वर्षीय उदित ठाकुर रहेका छन् । दुवैमाथि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरेको आरोप छ । पक्राउ परेका सुदीप रेखादेवीका श्रीमान् तथा उदित जेठाजु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए।

गत वर्ष कात्तिक १० गते रेखादेवीको उनका श्रीमान् सुदीपसँग विवाद भएको थियो । श्रीमान्ले बञ्चरोले टाउकोमा प्रहार गरेपछि रेखादेवीको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको भोलिपल्ट सुदीपले आफ्नै घरभित्र खाल्डो खनी रेखादेवीको शव पुरेका थिए । उनले घटनाबारे सहोदर दाजु उदितलाई जानकारी गराएको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायव उपरीक्षक अवालेले बताए ।

“घटनापछि दुवै दाजु–भाइ भारतमा काम गर्न गएको खुलेको छ”, उनले भने । दुवैजना गत वर्ष कात्तिक ३० गते घर फर्किएका थिए । दाजुभाइले खाल्डोबाट शव निकाली बोरामा हालेर सहिदनगर–७ नेमुवाटोल नजिकै खोल्सामा फालेको खुलेको छ ।

हत्याको लामो समयपछि आमा बेपत्ता भएको बारेमा छोरोले प्रहरीलाई खबर गरेको प्रवक्ता अवालेले बताए । अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको उनले बताए । प्रवक्ता अवालेका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो र कोदालो बरामद गरिएको छ । शवको टुक्रा पनि फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया