मंगलबार, चैत ३, २०८२

जाजरकोट र रुकुमपश्चिमका भूकम्पप्रभावित पत्रकारलाई प्रेस काउन्सिलद्वारा इन्टरनेटमा सहुलियत

मेरोन्यूज २०८१ वैशाख १३ गते १६:२२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत प्रदान गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

काउन्सिलको मिडिया विकास कोष अन्तर्गत एक सय बढी पत्रकार तथा सञ्चारगृहलाई इन्टरनेट शुल्कबापत ६ लाख रुपैयाँ सहयोग गरेको हो । गत वर्ष कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भइ गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका पत्रकार तथा सञ्चारगृहहरु प्रभावित भएका थिए ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्वासेसहितको टोली जाजरकोट र रुकुम पश्चिममा पुगेर सहायता प्रदान गरेको हो ।

अध्यक्ष बस्नेतले काउन्सिलका पदाधिकारी तथा कर्मचारीको तर्फबाट नेपाल सरकार भुकम्प प्रभावित राहत कोषमा तीन दिनको तलब योगदान गरेको बताए। भूकम्प प्रभावित पत्रकारको साथमा काउन्सिल रहेको भन्दै उनले मिडिया विकास कोषबाट लाभ लिन समेत आग्रह गरे । दुरदराजमा बसेर गरिएको पत्रकारिताले साँच्चिकै समाज रुपान्तरणका लागि ठुलो सहयोग पुगेको उनको भनाइ थियो । मिडिया विकास कोष सहायता वितरण कार्यक्रममा अध्यक्ष बस्नेतले काउन्सिलले छिट्टै मिडिया हाउसको सूचिकृत प्रक्रिया अनलाइनबाट गर्न लागिएको जानकारी दिए ।

काउन्सिलले रुकुमपश्चिमका १९ जना पत्रकार, आठ वटा एफएम रेडियो र ६ वटा छापा तथा अनलाइन पत्रिकालाई सहुलियत वितरण गरेको छ । यस्तै जाजरकोटका २४ जना पत्रकार, ५ वटा एफएम रेडियो र १० वटा अनलाइन तथा छापा माध्यमलाई सहुलियत वितरण गरिएको काउन्सिलका शाखा अधिकृत महेन्द्रराज सिंहले जानकारी दिए ।

काउन्सिलले जाजरकोट र रुकुम पश्चिमका सञ्चार गृहको अनुगमन तथा निरीक्षण गर्नुका साथै आचारसंहिता जागरण सञ्चालन गरेको थियो ।

प्रतिक्रिया