बुधबार, जेठ १, २०८२

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ढुङ्गाना

मेरोन्यूज २०८१ जेठ ३ गते १७:३३

काठमाडौं । नबिल बैंक लिमिटेडको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन् ।

जेठ २ गते बसेको नबिल बैंकको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई असार १७ गतेदेखि लागू हुने गरी थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही ३० वर्ष भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव बटुलीसकेका ढुङ्गानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनःबहाली गरेको बैंकले जनाएको छ ।

नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नु पूर्व तत्कालीन नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा उनले १० वर्षसम्म नेतृत्व सम्हालेका थिए ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका ढुङ्गानालाई नेपालको बैंकिङ्ग क्षेत्रमा पु¥याएको उत्कृष्ट योगदानका लागि सन् २०२२ मा राष्ट्रपतिबाट प्रबल जनसेवा श्री पदकद्वारा विभुषित गरिएको थियो ।

साथै ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच अवार्ड र सन् २०१५ मा म्यानेजर अफ द इयर अवार्ड विधामा पुरस्कृत व्यक्तित्व हुन् । प्रमुख कार्यकारी अधिकृत ढुङ्गानासँग सन् २०१८ मा नेपालका वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स संघको अध्यक्षका रूपमा नेपालको बैंकिङ्ग क्षेत्रको नेतृत्व गरेको अनुभव समेत रहेको छ ।

प्रतिक्रिया