मंगलबार, चैत १०, २०८२

वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गर्न सकेमा जो पनि अन्वेषक हुनसक्ने 

मेरोन्यूज २०८१ जेठ १२ गते १३:११

ललितपुर । चीन अन्वेषन तथा अनुसन्धान केन्द्रका प्रमुख तथा हङकङ विश्वविद्यालयका प्रमुख अन्वेषक डा. वाङ हाउ म्यानले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गर्न सकेमा जो पनि अन्वेषक हुनसक्ने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

 स्वतन्त्र अन्वेषणबाट प्राप्त ज्ञानमा सबैको समान तथा निःशुल्क पहुँच हुनुपर्नेमा जोड दिँदै डा. माङले भूराजनीति र विकसित भनिएका देशहरूको संकिर्ण व्यापारिक सोचले त्यस प्रकारका अन्वेषण तथा शोधकार्यबाट प्राप्त ज्ञानमा सिमित व्यक्तिहरूको मात्र पहुँच भएको विचार व्यक्त गरे । 

नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी तथा शिक्षकहरूसँग ललितपुरमा गरेको अन्तरक्रियामा उनले “अन्वेषण पछाडिको विज्ञान“ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । ललितपुरको प्रयागपोखरीस्थित कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा भएको कार्यक्रममा डा. वाङ होउ म्यानले अनुसन्धानको महत्वबारे चर्चा गरे । 

एलो रिभर, याङ्ट्से रिभर र मेकङ रिभरसहित एसियाका ६ वटा प्रमुख नदीहरूको पाँच हजार मिटर भन्दा माथि उचाईमा रहेका मुहानहरू पट्टा लगाई विश्वविख्यात भएका डा. वाङ होउ म्यानले विगतमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय तथा नासाका अब्बल वैज्ञानिकहरूसँग सहकार्य गरी सेटेलाइट प्रविधिको माध्यमबाट तिव्वतबाट प्रारम्भ भएको एलो रिभरको मुहान पट्टा लगाएका थिए । पछि भूधरातलीय अन्वेषणको लागि अन्य अन्वेषकहरू सहित ती क्षेत्रहरूको भ्रमण गरी गरी उक्त नदीको मूल निक्र्यौल गरेका थिए । अनुसन्धान तथा अन्वेषणको क्रममा उनले विभिन्न देशका आदिवासीहरूको प्रविधिहरू विश्वसामु उजागर गरी ती प्रविधिहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसैगरी विश्वका केही लोपोन्मुख जीवहरूको कृतिम गर्भाधानको माध्यमबाट उत्थानमा पनि उनको योगदान उल्लेखनीय छ ।

आफ्नो अन्वेषणको आधारमा तीस वटा पुस्तकहरू लेखिसकेका डा म्यानको कामको विश्वव्यापी महत्वको आधारमा अमेरीकाको सिएनएन न्यूज च्यालनले विभिन्न समयमा १३ पटक अन्तर्वार्ता लिई प्रसारण समेत गरिसकेको छ भने विश्व प्रसिद्ध पत्रिका वालस्ट्रिट जर्नलले पनि उनको कामको विवरण मुखपृष्ठमा छापेको थियो । विभिन्न अन्तरर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका डा. वाङ होउ म्यान विश्वविख्यात व्यक्तित्व हुन् ।  

कार्यक्रममा उपस्थित तीस जना विद्यार्थीहरूलाई लक्षित गर्दै डा. वाङ होउ म्यानले अन्वेषण गरी नयाँ कुराहरू पट्टा लगाउँदाको सुखद् क्षणहरूको चर्चा गरेका थिए । उनले  विद्यार्थीहरूलाई पनि अन्वेषणमा लाग्न प्रोत्साहन गरे । डा. वाङ होउ म्यान सन् १९८६ मा स्थापित चीन अन्वेषण तथा शोध केन्द्रका अध्यक्ष हुन् ।

कार्यक्रममा कलेजका निवर्तमान प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, कलेजको स्नातकोत्तर अध्ययन केन्द्रका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाही, सोही केन्द्रका उपप्राध्यापक प्रतिक सिंह ठकुरीसहित अन्य शिक्षकहरू पनि सहभागी थिए । 
नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा सम्पन्न कार्यक्रमको आयोजना कलेजका उपप्राध्यापक तथा प्राकृतिक स्रोत व्यवस्थापन विषयका संयोजक डा. नारायण प्रसाद कोजूले गरेका थिए ।
 

प्रतिक्रिया