मंगलबार, पुष २९, २०८२

प्रधानमन्त्री कप भलिबलमा नेपाल पुलिसद्वारा त्रिभुवन आर्मी पराजित

मेरोन्यूज २०८१ जेठ २३ गते २०:३७

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको आज भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा पुलिसले आर्मीलाई ३१ सेटमा पराजित गरेको हो ।

खेलको पहिलो सेट २५-२७ ले गुमाएको पुलिसले त्यसपछिका तीन सेट आफ्नो पक्षमा पा-यो । पुलिसले आर्मीमाथि २६-२४, २५-२१, २५-१८ ले जितेको हो ।

यसअघि पुलिसले सुदूरपश्चिम, बूढानीलकण्ठ र कोशी प्रदेशलाई समान ३-० ले पराजित गरेको थियो । त्यस्तै आर्मीको भने यो पहिलो हार हो । यसअघि आर्मीले बूढानीलकण्ठ, कोशी, एपिएफ र सुदूरपश्चिमलाई समान ३–० को सेटमा हराएको थियो ।

पुरुषतर्फ आजै सम्पन्न खेलमा सुदूरपश्चिमले कोशीलाई ३-१ सेटमा पराजित गरेको छ । आजै भएको महिलातर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३-० तथा आर्मीले न्यु डायमन्डलाई ३-२ को सेटमा हराएको थियो ।

प्रतिक्रिया