शुक्रबार, फागुन १, २०८२

‘साइबर अपराधको विषय पाठ्यक्रममै समावेश हुनुपर्छ’

मेरोन्यूज २०८१ जेठ ३२ गते २०:१२

काठमाडौं । पछिल्लो समय बालबालिकामाथि डिजिटल माध्यमबाट यौन हिंसा हुने क्रम बढेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। शुक्रबार राजधानीमा गैरसरकारी संस्था सिविन नेपालले आयोजना गरेको कार्यक्रममा विभिन्न डिजिटल माध्यमबाट बालबालिका यौन दुर्व्यवहारमा पर्ने क्रम बढ्दो रहेकोप्रति सरोकारवालाबाट चिन्ता व्यक्त गरिएको हो।

Advertisement
nepal life insurencenepal life insurence

कार्यक्रममा नेपाल प्रहरीका साइबर ब्युरो प्रमुख नविन्द अर्यालले यस आर्थिक वर्षमा हालसम्म १७ हजार ५ सय साइबर अपराधका मुद्दा दर्ता भएकोमा तीमध्ये ४ सय ७८ घटना बालबालिकासँग सम्बन्धित रहेकाे बताए। यसले पछिल्लो समय बालबालिकाहरू साइबर अपराधको जोखिममा पर्दै गएको देखाएको उनको भनाइ छ।

‘तीन वर्षमा साइबरको दुरुपयोग गरेर विभिन्न हिंसामा परेका ७९ बालबालिकाको उद्धार गरिएको छ। बालबालिका साइबर अपराधसम्बन्धी अनभिज्ञ हुनु, देखासिकीलगायत कारणले उनीहरू साइबर अपराधको जाेखिममा परेका छन्,’ अर्यालले भने।

बालबालिकामाथि हुने हिंसा र यौन दुर्यवहारका घटनामा कमी ल्याउन पाठ्यक्रममै साइबर अपराधको विषय समेटिनुपर्ने उनको सुझाव छ। ‘हामीले स्कुल तहबाट नै बालबालिकालाई यस्तो गरे साइबर अपराध हुन्छ। यस्ता क्रियाकलाप गर्नुहुँदैन भन्ने ज्ञान दिनसके मात्र न्यूनीकरण सहज हुन्छ। नत्र दिनहुँ बढ्दो नेट इन्टरनेटको प्रयोगले कमी आउने सम्भावना छैन’, उनले भने।

कार्यक्रमममा सिविनकी कार्यकारी निर्देशक सुम्‍निमा तुलाधरले आफ्ना बालबालिकामाथि कसैले इन्टरनेटका माध्यमबाट यौनजन्य क्रियाकलाप गरिरहेका त छैनन् भन्ने विषयमा अभिभावक चनाखो हुनुपर्ने बताइन्। यसका साथै सरकारले पनि बालबालिकाकाे क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धारणा उनले व्यक्त गरिन्। सहभागीहरूले सरकारले समयानुसार कानुन बनाएर बालबालिकामाथि हुने साइबर अपराध रोक्नुपर्नेमा जोड दिएका थिए। 


प्रतिक्रिया