शुक्रबार, फागुन १, २०८२

हिउँदमा सिँचाइ गर्न फलेवासमा पोखरी निर्माण

मेरोन्यूज २०८१ असार ८ गते ११:००

पर्वत । वर्षायाममा पानी सञ्चित गरी सुक्खायाममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतको फलेवासमा सिँचाइ पोखरी निर्माण गरिएको छ । खाद्यान्न उत्पादनका लागि जिल्लाकै अब्बल मानिएको फलेवासमा हिउँदयाममा भने सिँचाइ गर्न सकस हुँदै आएको छ । 

Advertisement
nepal life insurencenepal life insurence

फलेवास सिँचाइ योजनाको मुहान रहेको लमाए खोलामा पानीको मात्रा कम हुँदा हिउँदमा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता भएका बेला सिँचाइ पोखरी बनाएपछि बाह्रैमास सिँचाइ गर्न सकिने भएको छ । फलेवास नगरपालिका–६ देवीस्थानमा पोखरी निर्माण गरिएको हो । हिउँदे सिँचाइका लागी पानी सङ्कलन गर्न पोखरी निर्माण गरिएको हो । सुक्खायाममा बाँझो जमिनमा सिँचाइ सुविधा पुर्याउन पोखरी निर्माण गरिएको देवीस्थानका वडाध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिए । करिब १२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने गरी पोखरी निर्माण गरिएको छ । 

स्थानीय चौविस कुरिया टोलको फेदीबाट डिप बोरिङमार्फत पानी तानेर पोखरीमा जम्मा गर्ने र हिउँदमा फाँटहरुमा हिउँदे खेती, फलफूल, तरकारी बालीमा सिँचाइको सुविधा पुर्याइने छ । हिउँदको समयमा पानी अभावका कारण सुक्खा रहने जमिनमा सिँचाइ हुने गरी पोखरी बनेपछि स्थानीय कृषक खुसी भएका छन् । 

पोखरी निर्माणका लागि गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतमार्फत रु २० लाख बजेट प्राप्त भएको थियो । पाँच फिट गहिराइ, दश मिटर चौडाइ र १६ मिटर लम्बाइ भएको पोखरी निर्माण भएपछि देवीस्थानका एक सय ३० घरधुरी लाभान्वित हुने पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश चपागाईले बताए । 

“यसले हिउँदमा धेरै कृषक लाभान्वित हुने छन्”, उनले भने । बाह्रै महिना सिँचाइ हुने भएपछि तरकारी उत्पादनमा वृद्धि गर्ने कृषकको योजना छ । सडक, विद्युत् पुगे पनि पर्याप्त सिँचाइका लागि पानी नहुँदा तरकारी तथा अन्य वस्तु आयात गर्दै आएका किसानले अब त्यसका कमी आउने अपेक्षा गरेका छन् । 

अहिले पर्वतको कुल खेतीयोग्य जमिनमध्ये ११ हजार नौ सय ३४ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा छ । तर बाह्रैमास सिँचाइ सुविधा पुग्ने जमिनको क्षेत्रफल भने जम्मा तीन हजार पाँच सय हेक्टर मात्र रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख विष्णुहरि अधिकारीले बताए । स्रोत कम भएका तर खेतीयोग्य  जमिन रहेका फलेवासजस्तै कटुवाचौपारी, पाङ, बर्राचौर, कुर्घालगायतका ठूला फाँटमा यस्ता पोखरी निर्माण गर्न सकिने उनको भनाइ छ । 

प्रतिक्रिया