दूध बिक्री गरेर मासिक एक लाख कमाइ

गलकोट । बसाइँसराइले रित्तिँदै गएको छिस्तिको फुर्केसल्ला गाउँमा आँगनभरि मौरीका घार, गोठभरि भैँसी र पाडापाडीपालन गरेर बसेका छन् रघुनाथ पौडेलको परिवार।
जैमिनी नगरपालिका–८ फुर्केसल्ला पुग्दा ६१ वर्षीय रघुनाथ पौडेल र उनका ३२ वर्षीय छोरा राजन गाईभैँसीको स्याहारसुसारमा व्यस्त थिए। बाउछोरा मिलेर उनीहरूले चार वर्षयता दूध र मह उत्पादन गर्दै आएका छन्। उनीहरू गाउँकै उदाहरणीय परिवारका रुपमा चिनिएका छन्।
गाउँमा बाँदर आतङ्क भएपछि अन्नबालीसमेत कम उत्पादन हुन थाल्यो। परम्परागत कृषि कर्म गर्दै आएका रघुनाथले छोराकै सहायतामा कृषि र पशुपालनलाई अहिले व्यावसायिक बनाएका छन्।
‘चार वर्ष अगाडिसम्म छोरा चितवनमा माछापालन गरेर बस्थ्यो, घरमा दुई चार वटा मौरीका घार र एउटा लैनो भैँसी थियो। कोभिड–१९ पछि छोरा घर फर्कियो र व्यावसायिक पशुपालनमा लाग्यौँ,’ रघुनाथले भने, ‘अहिले बाउछोरा मिलेर छ वटा मुर्रा क्रस जातका भैँसी र तीन वटा गाईपालन गरेका छौँ, २६ वटा मौरीका घार छन्। मौरीका घार वृद्धि गरेर ५० पुर्याउने तयारीमा छौँ।’ अन्न कुटानी पिसनीका लागि घरमै मिल राखेका छन्।
चितवनमा जग्गा भाडामा लिएर माछापालन गर्दै आएका राजनलाई गाउँका अन्य युवा झैँ विदेश जान मन लागेन। बुवाको परम्परागत कृषि र पशुपालनलाई व्यावसायिक बनाउने काममा लागे। अहिले उनीहरूले दैनिक ४० लिटर दूध बागलुङ बजारमा पठाउँछन्। उनीहरूले छिस्ती पाडापाडी तथा भैँसीपालन फार्म सञ्चालन गरेका छन्। फार्ममा अहिले छ वटा पाडी, एक पाडो र दुई गाईका बाच्छा हुर्कंदै छन्।
‘कोरोना अगाडि म चितवनमै माछापालन गरेर बस्थेँ, अरुको जग्गा भाडामा लिएर काम गरेको थिएँ। कोभिडका बेला घाटा लाग्यो त्यसपछि घरमै आएर बुबाले गरिरहनुभएको कामलाई व्यावसायिकता दिएको हुँ,’ छोरा राजनले भने। फार्ममा एउटा स्थानीय जातको भैँसीसमेत छ। सुक्खा मौसममा ४० लिटर दूध घाँस प्रशस्त भएका बेला ५० लिटरभन्दा बढी दूध बजार लैजाने गरेको उनले बताए।
बागलुङ बजारको भैरव डेरीले प्रतिलिटर रु ९५ मा दूध लिने गरेको पौडेल बताउँछन्। अहिले हुर्कंदै गरेको पाडापाडी बढेपछि दूध उत्पादन एक सय लिटर पुग्ने उनले बताए। उनले उन्नत जातको भैँसी र गाईबाट जन्मेका पाडापाडी संरक्षण गर्नसके महँगो मूल्य हालेर भैँसी र गाई खरिद गर्न नपर्ने बताए।
बाँदरको आतङ्क बढेपछि उनीहरूले गाउँको १० रोपनी जग्गामा व्यावसायिक बहुवर्षे घाँसखेती गरेका छन्। घाँसमा आधारित पशुपालन भएकाले मुनाफा बढी हुने बताउँदै मासिक रु एक लाख देखि एक लाख ५० हजारसम्म आम्दानी दूध बिक्रीबाटै हुने उनीहरूको भनाइ छ। पौडेलको घरमा २६ घार मौरीले व्यावसायिक उत्पादन दिइरहेको छ। वर्षमा एकदेखि डेढ क्विन्टल मह उत्पादन गरी बिक्री गर्दा वार्षिक दुई लाखभन्दा बढी आम्दानी महबाटै हुने गरेको छ। अर्गानिक मह भएका कारण घरैबाट एक हजार पाँच सय प्रतिकिलो बिक्री हुने गरेको रघुनाथ पौडेलले बताए।
‘विदेश गए पनि दुखै हो, बाँझो जग्गामा घाँसखेती गरेका छौँ, त्यही घाँसले गाईभैँसीपालन हुन्छ। मौरीलाई हेरचाह मात्रै गरे पुग्यो,’ उनले भने। कृषि ज्ञानकेन्द्र बागलुङले मौरीका घार थप्न रु ५० हजार अनुदान दिएको छ।
उनीहरूले दुई वटा प्लाष्टिक टनेलमा टमाटर र काउलीखेती गरेका छन्। बाउछोराको काममा सिङ्गो परिवारका सदस्यले दिएको छ। कक्षा १२ सम्म अध्ययन गरेका राजन पौडेल सकेसम्म विदेश नजाने र यही कृषि कर्मलाई वृद्धि गर्दै जाने बताउँछन्। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गोठ सुधारका लागि एक लाख २० हजार र पाडापाडी संरक्षण गर्न रु ४० हजार प्रदान गरेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले बताए। १० रोपनी घाँसखेतीका लागि प्रतिरोपनी तीन हजारका दरले ३० हजार अनुदान दिइएको सापकोटाले जानकारी दिए।
‘पशु विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा उत्पादनका आधारमा मासु, दूधदेखि घाँससम्ममा अनुदान दिएको छ, व्यावसायिक रुपमा पशुपालनमा लागेको किसानलाई घाँस उत्पादन, पाडापाडी संरक्षण गर्न सहयोग गरेका छौँ,’ डा सापकोटाले भने, ‘अनुदानले पूर्वाधार मात्रै बनाउँदा परिणाम देखिएन, अहिले उत्पादनका आधारमा अनुदान दिँदा असली किसान उत्साहित भएका छन्।’
जैमिनी नगरपालिकाले गाईभैँसीको पिसाब सङ्कलन गर्न रु २५ हजार सहयोग गरेको छ। दुई वटा प्लाष्टिक टनेल बनाउन रु ५० हजार नगरपालिकाले दिएको रघुनाथ पौडेलले बताए।
















वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
जेडटिई रेडम्याजिक ११ प्रो नेपाली बजारमा आउँदै
कञ्चनपुरमा ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
विश्वमा १ करोड ७ लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया