देवतालाई आराम दिन एक महिना गाउँ छाड्ने चलन!

सोलुखुम्बु। यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पर्ने दिङ्बोचेका गाउँलेले यसवर्ष पनि एक महिनाका लागि गाउँ छाडेका छन्। यसरी गाउँ छोड्ने परम्परालाई यहाँका स्थानीय शेर्पा समुदायले ‘डिइ’ भन्ने गर्छन्। बौद्ध परम्पराअनुसार एक महिना देवतालाईसमेत् आराम दिन, गाउँ शान्त बनाउन गाउँ छोड्नुपर्ने मान्यता यहाँको शेर्पा समुदायमा छ।
दिङ्बोचे समुन्द्री सतहबाट चार हजार चार सय १० मिटरको उचाइमा पर्दछ। विश्वकै आकर्षक हिमाल आमादब्लमको काखमा अवस्थित दिङबोचे हुँदै सगरमाथा जानुपर्ने भएकाले यस गाउँको आफ्नै पहिचान छ। यहाँ ६० घर शेर्पा समुदाय बस्छन्। जसमा ३० वटा जति होटल तथा लज छन्। गाउँलेको मुख्य पेसा होटल व्यवसाय हो। केहीले पशुपालन तथा खेती गर्छन्।
असार–साउन महिनामा पर्ने गरी बर्सेनि एकपटक ‘डिइ’ बार्ने यहाँका शेर्पाहरुको संस्कार हो। यो चलन निकै प्राचीन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडा सदस्य पासाङ नुरु शेर्पाले बताए। ‘डिइ’ भनेको यहाँको समुदायको संस्कारअनुसार करिब एक महिनाभर घरमा ताला लगाउने र मानिसहरु सबैले गाउँ छोड्नु हो। उनीहरुले बौद्ध धर्म गुरु अर्थात् लामा पुरोहितलाई साइत हेराएर बौद्ध परम्पराअनुसार पूजापाठ गराएर गाउँ छाड्ने गर्छन्। पर्यटनका लागि ‘अफ–सिजन’ भएकाले पनि एक महिनाभर अन्यत्र बसाइँ जाने चलन रहेको स्थानीय बताउँछन्। सोही संस्कारअनुसार दिङ्बोचेवासीले गत बुधबारदेखि सबै घरमा ताला लगाएर गाउँ छाडेका छन्।
गाउँ छोड्नुअघि गाउँलेले स्थानीय गुम्बामा गएर बौद्ध परम्पराअनुसार पूजापाठ गर्ने र लामाबाट प्रसाद ग्रहण ग्रहण गर्ने चलन छ। यसो गर्दा पशुपालन र खेती फस्टाउने जनविश्वास छ। अधिकांश दिङबोचेवासीको घर पाङ्बोचे, खुम्जुङ, नाम्चे, लुक्लालगायत क्षेत्रमा पनि रहेकाले उनीहरु दिङ्बोचे छाडेपछि त्यता जाने स्थानीय बताउँछन्। डिइ अवधिमा उनीहरु वस्तुभाउसमेत् लिएर अन्यत्र सर्ने गर्छन्।
पर्यटकीय रुपले अफसिजन भएकाले कतिपय काठमाडौं, पोखरा, भारतको बोधगयालगायतका स्थानमा घुम्न निस्किएका छन्। डिइको प्रचलन दिङ्बोचेबाहेक खुम्बुको अन्य स्थानमा नरहेको नाम्चेका लामाकाजी शेर्पाले बताए। ‘मैले धेरै पहिलादेखि यो कुरा सुनेको हुँ, तर हाम्रो नाम्चेतिर यस्तो चलन छैन त्यहाँ मात्रै हो, त्यो उनीहरुको आफ्नो संस्कार हो’, उनले भने।
करिब चार सय जनसंख्या रहेको उक्त गाउँ एक महिनाका लागि सुनसान भएको छ। ‘डिइ’को अवधिमा कुनै पनि मानिसहरु घर तथा बारीमा जान नमिल्ने वडा सदस्य शेर्पाको भनाइ छ। उनले भने, ‘यतिखेर हामी सबैले गाउँ छोडिसकेका छौँ, अब एक महिनाभर कसैको होटल तथा घरमा ताल्चा खोल्न मिल्दैन र हामी कोही पनि जाँदैनौँ, कहिलेकाहीँ विदेशीहरु घुम्न गएमा त्यहाँ बास बस्ने गरी जाँदैनन्, उनीहरु घुम्छन् र नजिकैको अरू बस्तीमा बास बस्न पुग्छन्।’
‘डिइ’ का लागि उर्दी गर्न समुदायले वर्षैपिच्छे दुईजना व्यक्ति शेर्पा भाषामा ‘नवा’ चुन्ने चलन छ। गाउँलेबाट चुनिने ती व्यक्ति (नवा)ले कहिलेबाट गाउँ छोड्ने कहिले प्रवेश गर्ने, कहिलेबाट घरमा आगो बाल्न पाउने, कहिले बारीमा पस्ने जस्ता कुराहरुको उर्दी गर्ने गर्छ। नवाले हरेक कुरा लामा गुरुहरुसँग समन्वय गर्ने भएकाले सबै गाउँलेले मान्नुपर्ने चलन छ।
सोही अनुसार यस वर्ष पनि असार २६ गतेदेखि पूजापाठ गरेर सबैले गाउँ छाडेको स्थानीय पासाङ शेर्पाले जानकारी दिए। यदि संस्कार तोडेमा अनिष्ट हुने, गाउँमा मानिसहरुको मृत्यु हुने, बाढी आउने, बालीनाली बिग्रन्छ भन्नेजस्ता मान्यता छ।
स्थानीय पासाङ शेर्पाले भने, ‘यो हाम्रो पुस्तौँदेखिको संस्कार हो, यसलाई तोड्न धेरैले कोसिस गरे तर ठूलो लामा भिक्षुहरुले यसलाई तोडेको खण्डमा गाउँमा अनिष्ट हुने भनेपछि कसैले हिम्मत गर्न सकेका छैनन्, यहाँ यो नियम सबैले मान्छन्, कसैले विरोध गर्दैनन्।’ यसअवधिमा दिङ्बोचे प्रहरी चौकीका प्रहरीसमेत नाम्चे सरेका छन्। एक महिनाभर गाउँमा मानिस नहुने भएपछि प्रहरी चौकी सर्नु परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए।
यो चलनलाई कतिपयले रूढीवादीको संज्ञा दिने गरेका छन्। यो समयमा फुर्सद हुने भएकाले भ्रमण तथा रमाइलो गर्न विगतमा गाउँ छाड्ने चलन थियो। विस्तारै यसलाई संस्कारका रुपमा विकास गर्दै लगिएको छिमेकी गाउँका स्थानीय बताउँछन्। आरोहण तथा पदयात्रायाममा सगरमाथा क्षेत्र जाने पर्यटकले यहाँका होटलहरु भरिभराउ हुने गर्छन्। पदयात्रीहरु लेक पचाउन दिङबोचेमा दुई रात बिताउने गर्दछन्।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिक्रिया