मंगलबार, चैत २४, २०८२

साहित्यले राष्ट्रलाई अगाडि बढाउँछ : सभामुख

मेरोन्यूज २०८१ असार २९ गते १३:४३

काठमाडौँ। सभामुख देवराज घिमिरेले नेपाली साहित्यको महत्वलाई दर्शाउँदै साहित्यलाई अगाडि बढाउँदै गर्दा त्यसले राष्ट्रलाई अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

 आदिकवि भानुभक्त आचार्यको २११औँ जन्म जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र भानु प्रतिष्ठानले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले नेपाल जस्तो विभिन्न जातजातिको बसोवास भएको तथा संस्कार संस्कृति रहेको मुलुकमा भाषाले अझ विश्वव्यापी महत्त्व कायम गर्ने बताए।

 वर्तमान आधुनिक युगमा ‘डिजिटलाइज’ गरेर नेपाली साहित्यलाई प्रतिष्ठा बनाउनुपर्ने उनको भनाइ छ। सभामुख घिमिरेले आदिकवि भानुभक्तले गर्नुभएको योगदानको सम्मान गर्दै नयाँ पुस्ताले अनुसरण गर्नुपर्नेमा जोड दिए।  

 उनले भानुभक्तले गरेका योगदानलाई समाजमा ल्याउनुका साथै समाजको विकासलाई साहित्यको क्षेत्रबाट अगाडि लैजाने, भाषालाई विकास गर्ने र भाषाको माध्यमबाट विश्वव्यापी रूपबाट राष्ट्रलाई चिनाउनुपर्ने बताए। ‘नेपाल एकीकरण गर्ने सन्दर्भमा तत्कालीन राजा पृथ्वीनारायण शाहले जसरी राष्ट्रलाई भौगोलिक रूपबाट एक ठाउँमा ल्याउन विशाल राष्ट्र बनाउने र नेपालीलाई अगाडि बढाउने कुरा एउटा ऐतिहासिक महत्व कायम गर्नुभयो, त्यो आन्दोलनलाई अगाडि बढाउँदै गर्दा वीर रसका धेरै कविता लेखिने गरेको इतिहास छ’, उनले भने।  

सोही अवसरमा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा-प्रतिष्ठानले सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान भन्ने मूल मन्त्रअनुसार प्रतिष्ठानलाई साझा थलो बनाउने जर्मको गरिरहेको बताए।

भानु प्रतिष्ठानका अध्यक्ष डा नवराज लम्सालले आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे। भानुजयन्तीका अवसरमा प्रज्ञा-प्रतिठान र भानु प्रतिष्ठानले संयुक्त रुपमा आज बिहान प्रभातफेरिसहित शोभायात्रा गरेको थियो। 

भानु नगरपालिका-४ चुँदीरम्घा, तनहुँमा १८७१ असार २९ गते जन्मिएका  आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त बाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन्। भानुभक्तले ‘प्रश्नोत्तर’, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका  थिए।

प्रतिक्रिया