सोमबार, चैत ९, २०८२

प्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्सबीच इक्विटी लगानी सम्झौता

मेरोन्यूज २०८१ साउन ७ गते १०:२२

काठमाडौं । नेपालको शैक्षिक विकासका लागि विद्यालय तहदेखि उच्च शिक्षाका क्षेत्रमा विश्वस्तरीय शिक्षा प्रदायक शैक्षिक संस्थाहरूको स्थापना र प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०६१ मा स्थापित प्रोफेसनल एजुकेटर्स लिमिटेडको नाम प्राज्ञिक जगतमा अग्रणी एवम् गरिमामय छ।

Advertisement
nepal life insurencenepal life insurence

ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कुल अफ साइन्स, युनिग्लोब स्कुल/कलेज, भ्याली भ्यु स्कुल, ग्लोबल कलेज इन्टरनेसनल र लिबर्टी कलेज जस्ता ख्यातिप्राप्त शैक्षिक संस्थाहरूको स्थापना, व्यवस्थापन एवम् सञ्चालनका क्रममा निजी क्षेत्रको विशिष्ट योगदानस्वरूप विभिन्न क्षेत्रबाट उच्च योगदान पुर्‍याउँदै आएका विज्ञ व्यक्तित्वहरूको संलग्नतामा आरम्भ भएको शैक्षिक यात्राले आज सुनौलो गन्तव्य पहिल्याउन सफल भएको छ।

२० वर्षको गौरवशाली शैक्षिक इतिहास निर्माण गरिसकेको प्रतिष्ठित शैक्षिक संस्था प्रोफेसनल एजुकेटर्स लिमिटेड (ग्लोबल ग्रुप) एवम् नेपालको विश्वासिलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआइसी) बीचमा संस्थागत विकासको वृहत्तर अवधारणाअनुरूप इक्विटी लगानी सम्झौता सम्पन्न भएको छ।

गुरुपूर्णिमा ६ साउन २०८१ मा प्रोफेसनल एजुकेटर्स लिमिटेडका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा, नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्दलाल सङ्घाई, वरिष्ठ सञ्चालक तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल तथा दुवै प्रतिष्ठित कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, वरिष्ठ अधिकृतहरू, चार्टर्ड एकाउन्टेन्टहरू तथा कानुनी सल्लाहकारहरू समेतको उपस्थितिमा रोयल सिङ्गी होटेलमा आयोजना भएको विशेष समारोहमा प्रोफेसनल एजुकेटर्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले इक्विटी लगानी सम्झौतामा हस्ताक्षर गरे।

लगानीका क्षेत्रमा नेपालमा पहिलोपटक संस्थागत रूपमा यस किसिमको अभूतपूर्व सहकार्य हुँदै मुलुकको शैक्षिक इतिहासमा नयाँ आयामको थालनी भएको छ। शैक्षिक प्रवर्द्धनमुखी कदम र नयाँ प्रयोगका माध्यमबाट प्रोफेसनल एजुकेटर्स लिमिटेडले आफ्नो आगामी यात्राका क्रममा शिक्षा क्षेत्रको दिगो संस्थागत संरचना खडा गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ।

यसका लागि कम्पनीले संस्थागत सुशासन र पारदर्शितामा अब्बल साबित गर्दै गुणस्तर कायम गर्न सबल र सक्षम भई विद्यार्थी वर्गको भविष्य सुनिश्चित हुनेछ। यस किसिमको पहलबाट कम्पनीको गरिमा स्वतः अभिवृद्धि हुन जाने भएकाले नेपालको शिक्षा क्षेत्रमा यस लगानी सम्झौताको सन्दर्भलाई शैक्षिक विकासको कोसेढुङ्गो मान्न सकिन्छ।

अत्याधुनिक भौतिक पूर्वाधार, प्रविधिमैत्री शैक्षिक वातावरण, दक्ष जनशक्ति, स्पष्ट एवम् पारदर्शी कार्यनीति र निरन्तर उत्कृष्ट नतिजा आदि विशेषताहरूलाई आत्मसात् गर्दै आएको प्रोफेसनल एजुकेटर्स लिमिटेडले निकट भविष्यमा नै सर्वसाधारणका लागि लगानीको अवसर प्रदान गर्ने गरी प्राथमिक सार्वजनिक निस्काशन (आईपीओ) जारी गर्न धितोपत्रको सूचीकरणसम्बन्धी प्रक्रियासमेत अगाडि बढाउने भएको छ।

यस किसिमका अग्रगामी पहलकदमीबाट शैक्षिक क्षेत्रमा नव उन्नयन हुँदै काँचुली फेरिने अपेक्षाका साथ दुवै पक्षबाट सहकार्यका साथ अघि बढ्ने प्रण गरिएको छ। साथै, नेपालको निजी क्षेत्रबाट सेवा प्रदान गरिएको शैक्षिक क्षेत्रको संस्थागत विकासमा यस किसिमको सहकार्यबाट समृद्धिको नयाँ अध्याय सुरु भएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया