शनिबार, चैत ७, २०८२

थारु समुदाय ‘गुरही पर्व’ मनाउने तयारीमा

मेरोन्यूज २०८१ साउन २४ गते १६:२८

कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएको थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व मनाउने तयारी थालेको छ । कैलालीमा पनि यो पर्व मनाउन तयारी तीव्र पारिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सखी सञ्जाल कैलाली, थारु कल्याणकारिणीसभा धनगढी नगर समिति, राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समिति, थारु महिलासभा कैलाली, थारु महिला सञ्जाल धनगढी लगायतको संयुक्त आयोजनामा यही साउन २५ गते धनगढीको क्याम्पस चोकमा धुमधामसँग पर्व मनाउने तयारी थालिएको सखि सञ्जाल कैलालीका कार्यबाहक संयोजक कालीमैया चौधरीले जानकारी दिए । यस्तै धनगढीका विभिन्न गाउँठाउँमा पनि सामूहिक रुपमा उक्त पर्व मनाउन थारु समुदाय जुटेको छ । थारु सामुदायभित्रको सांस्कृतिक विविधतालाई संरक्षण सम्बद्र्धन गर्र्ने उद्देश्यले गुरही पर्व मनाउने गरिएको संयोजक चौधरीले बताए ।

“विशेष गरी “गुरही”एक प्रकारको कीराको नाम हो, यस कीरालाई नेपाली भाषामा ‘गाईनेकीरा’ भन्ने गरिन्छ, गर्मीयाममा गाउँघरमा व्याप्त दूषित किटाणु तथा लामखुट्टेलाई आफ्नो आहारा बनाई यस कीराले वातावरण सरसफाइमा टेवा पु¥याएको हुन्छ”, उनले भने, “यसै गुरहीको प्रतिकका रुपमा बालबालिका तथा दिदीबहिनीले लुगाको गुडीया बनाइ गाउँको दक्षिणपट्टिको चोकमा सेलाउने (असरैना) गर्दछन् । पुरुषहरु सेलाएको गुडीयालाई लठ्ठी आकारको सोताले पिट्ने र गाउँभरिको रोगव्याध तथा नराम्रो चिज लैजा भनेर जोरले चिच्याउने चलन छ ।”

गुरही सेलाउने काम सकिए पश्चात गुरहीसँग ल्याएको गेडागुडी तथा भुजा एकापसमा बाँडी खाने, खुवाउने र नाचगान गरी रमाइलो गर्ने चलन छ । यसर्थ यस पर्वलाई जनस्वास्थ्यसँग पनि जोडेर हेर्ने गरिएको छ । यस पर्वलाई रोगव्याधी निर्मूल गर्ने पर्वको रुपमा पनि लिने गरिएको छ । यो पर्व थारु समुदायले लामो समयदेखि धनगढीको गुरही चोक (क्याम्पस रोड) मा भव्यताका साथ मनाउँदै आएको राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समितिका कोषाध्यक्ष राजु चौधरीले बताए । यसवर्ष पनि गुरही पर्व विगतभन्दा अलि फरक ढङ्गले सिर्जनात्मक कार्य गरी मनाउने तयारी गरिएको उनले बताए ।

थारु समुदायमा गुरही पर्व बालबालिकालगायत सबैले हर्षोउल्लासका साथ मनाउने गरिएको छ । यसर्थ यसवर्ष थारु समुदायले मनाउने गरिएको गुरही पर्व श्रावण शुक्ल पञ्चमी (नाग पञ्चमी) का दिन अर्थात यही साउन २५ गते पर्न गएकाले उक्त दिन धनगढी उपमहानगरपालिकाले यहाँ सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया