शनिबार, वैशाख ५, २०८३

शंखमुलमा पुल हाउस सञ्चालकको हत्या आरोपमा १ जना पक्राउ

मेरोन्यूज २०८१ भदौ १२ गते १६:५६

काठमाडौं। शंखमुलमा पुल हाउस सञ्चालकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-१० साइबाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेका छन्।

कुमारलाई बुधबार बिहान सवा १० बजे उनको कोठाबाटै पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले बताए।

भदौ १० गते बिहान राति करिब १:५० बजे शंखमुल साइबाबा पार्कस्थित एउटा घरमा सञ्चालन गरिएको पुल हाउसभित्र ४१ वर्षीय रुपक वान्तवाको हत्या भएको थियो। उक्त पुल हाउस वान्तवाले नै सञ्चालन गर्दै आएका थिए।

पुल हाउसमा गम्भीर अवस्थामा भेटिएका वान्तवाको उपचारको क्रममा सिभिल अस्पतालमा बिहान साढे २ बजे मृत्यु भएको थियो।

वान्तवालाई शरीरका विभिन्न भागमा रड प्रहार गरिएको थियो। कुमारको कोठाबाट घटनामा प्रयोग भएको रडसमेत प्रहरीले बरामद गरेको छ।

रजौरेका अनुसार वान्तवाको पूर्वरिसिइबीको कारण हत्या भएको खुलेको छ। कुमार साइबाबा पार्कस्थित टहरामा डेरा गरी बस्दै आएका थिए।

तर, उक्त रिसिइबीबारे सबै स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ। ‘सानो सानो कुरामा झगडा हुने गरेको र त्यही झगडाको कारण हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ रजौरेले भने।

प्रतिक्रिया